aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 
ब्राण्ड

'पुराना सेगमेन्टका बाइक पारखी पनि अहिले मोटरहेड ब्राण्डमा आकर्षित हुन थालेका छन्'

  • राम कार्की
    राम कार्की
  • मंगलबार, १८ फागुन २०७७
'पुराना सेगमेन्टका बाइक पारखी पनि अहिले मोटरहेड ब्राण्डमा आकर्षित हुन थालेका छन्'

उज्जवल जोशी एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका जनरल म्यानेजर हुन् । यो कम्पनीले नेपालमा फिगो पावर कम्पनी अन्तर्गत मोटरहेड ब्राण्डको उत्पादनका लागि आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको छ । अहिले काठमाडौं उपत्यका र बाहिर समेत गरी करिब डेढ दर्जन शोरुम तथा सर्भिस सेन्टरबाट सो कम्पनीले बिक्री तथा बिक्रीपछिको सेवा सञ्चालन गर्दै आएको छ । 

मोटरहेड कम्पनी दुईपांग्रे सवारीसाधन उत्पादन गर्ने प्रसिद्ध चिनियाँ कम्पनी हो । यो पछिल्लो समय विश्वमा लोकप्रिय ब्राण्डको रुपमा स्थापित भइसकेको छ । यो कम्पनीको टेक्कन २५० ब्राण्डको मोटरसाइकलले २०१४ मा लगातार ३५ हजार किलोमिटर कुदाएर गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । अहिले नेपालमा मोटरहेड कम्पनीले उत्पादन गरेका डर्ट, स्क्रयाम्ब्लर र स्पोर्टस बाइकहरुको बिक्री भइरहेका छन् । 

यही सम्बन्धमा बजारमा कम्पनीका मोटरसाइकलको बिक्रीको अवस्था, बिक्रीपछिको सेवा तथा कम्पनीको आगामी योजनाको बारेमा केन्द्रित भई आर्थिकन्युज डटकमका लागि  राम कार्कीले गरेको कुराकानीको सम्पादित अंश :

***

दुईपाङ्ग्रे सवारीसाधनको भीडमा मोटरहेड कम्पनीलाई स्थापित गर्ने प्रयास गर्दै हुनुहुन्छ । यो ब्राण्डप्रति ग्राहकलाई आकर्षित गर्ने विशेषता तपाइँहरुसँग के छ ? 

हामीले नेपालमा मोटरहेड कम्पनीको डर्ट, स्क्र्याम्ब्लर र क्रस–ओभर सेगमेन्टका बाइकहरु बिक्री गर्दै आएका छौं । यी सेगमेन्टहरुमा यो ब्राण्ड अहिले उदाउँदै गरेको अवस्था छ । 

हाम्रो बाइकको विशेषताको चाहिँ उच्चतम ग्राउन्ड क्लियरेन्स, अकल्पनीय पावर टर्क र आरामदायी राइडिङ नै हो । विशेषताको आधारमा उचित मूल्य समेत भएको कारणले पनि ग्राहकहरु आकर्षित भएका छन् । 

हामीले विगत ५ वर्षदेखि नेपालमा यो ब्राण्डका बाइकहरु बिक्री गर्दै आएका छौं । अहिलेसम्म हाम्रो ब्राण्ड प्रयोग गर्ने ग्राहकहरु निकै सन्तुष्ट भएको हामीले पाएका छौं । बिक्रीपछिको सेवामा पनि हामी अरुभन्दा अगाडि छौं । देशभरका मुख्यमुख्य शहरमा हाम्रा आउटलेट र सर्भिस सेन्टर खुलिसकेका छन् । यसले ग्राहकलाई थप आकर्षित बनाएको छ ।

हामी अहिले पनि आउटलेट तथा सर्भिस सेन्टर विस्तार गर्ने क्रममा नै छौं । बजारको माग र सम्भावनालाई आधार बनाएर देशभर विस्तार गर्दै जान्छौं । 

अहिले तपाइँहरुले कुन कुन मोडलका बाइकहरु बिक्री गरिरहनुभएको छ ? 

मैले अघि भनेजस्तै डर्ट, स्क्र्याम्ब्लर र क्रसओभर सेगमेन्टका बाइकहरु बिक्री गर्दै आएका छौं । यो चीनको फिगो पावर कम्पनीको उत्पादन हो । इकोनोमिक डिलक्स, पावर एण्ड स्टाइल सेगमेन्टपछि उदाएको  यो सेगमेन्टका बाइकले  पुरानो सेगमेन्टका बाइक पारखीलाई पनि आफूतिर तान्न सफल भइरहेको छ । 

यी बाइकहरुको बजारमूल्य चाहिँ के कति छ ? 

यो सेगमेन्टको बाइक ‘भ्यालु फर मनि’को विशेषता बोकेको ब्राण्ड प्रमाणित भएको छ । इन्ट्रि लेभलदेखि अपग्रेड हुन चाहने ग्राहकको लागि समेत आफ्नो बजेटले धान्नसक्ने खालको मूल्य निर्धारण गरिएको छ ।  

इन्ट्रि लेभलका ग्राहकका लागि एमएच १५० ब्राण्ड सबैभन्दा उपयुक्त छ । यसको बजारमूल्य २ लाख ८८ हजार रुपैयाँ छ । अपग्रेड हुन चाहनेका लागि चाहिँ अधिकतम ४ लाख ५५ हजारसम्मका बाइकहरु उपलब्ध छन् । 

यो बाइकको स्कोप निकै फराकिलो छ । यस अर्थमा पक्की र कच्ची दुवै खालका सडकका लागि यी बाइकहरु सहज छन् । नेपालमा यो ब्राण्डको ७ मोडलका बाइकहरु बिक्री हुँदै आएको छ । त्यसमध्ये ५ वटा ब्राण्ड अफरोड राइडिङको लागि उपयोगी छ । यही भएर यी मोटरसाइकलको माग पहाडी क्षेत्रमा बढी छ । 

मोटर्ड सेरिजमै उपलब्ध भएका टेक्कन २५०, स्क्र्याम्बर २५० र स्पोर्टस् २५० जस्ता ब्राण्डहरुको आकर्षण तराई क्षेत्र र काठमाडौं उपत्यकामा बढी छ ।

मोटरहेड बाइकको बिक्रीपछिको सेवाको अवस्था चाहिँ कस्तो छ ? 

अटोमोबाइल क्षेत्रमा बिक्री गरेर मात्रै बस्छु भनेर त कल्पना गर्न पनि सकिँदैन । यो हाम्रो व्यवसायिक नैतिकताले पनि दिँदैन ।

ग्राहकलाई आफ्नो ब्राण्डको उत्पादन बिक्री गर्नु मात्रै हाम्रो उद्देश्य होइन । बिक्री भइसकेपछि प्रयोग अवधिभर ग्राहकको माग अनु्सार सेवा दिइरहनु हाम्रो दायित्व हो । यही कुरालाई विचार गरेर हामीले बिक्रीपछिको सेवालाई पनि सुदृढ बनाएका छौं । 

हामीले अहिले भक्तपुरको सल्लाघारी, ललितपुरको धोवीघाट र काठमाडौंको बालाजुमा अत्याधुनिक सेवा केन्द्रको स्थापना गरेका छौं । उपत्यका बाहिर पनि हाम्रो डिलर नेटवर्क सुविधा रहेको छ । ग्राहकको सहजताको लागि हामीले आधिकारिक सर्भिस सेन्टर विस्तार गर्दै गएका छौं । 

कतिपय बाइकको स्पेयर पार्टर्स नपाउने अवस्था पनि छ, पाए पनि निकै महँगो पर्छ । तपाइँले बिक्री गर्नुभएका बाइकको हकमा अवस्था कस्तो छ ? 

स्पेयर पार्टसको कुरा गर्दा हामीले बिक्री गर्ने मोटरसाइकलहरको स्पेयर पार्टसलाई सहज ढंगले बजारमा उपलब्ध हुने व्यवस्था पनि गरेका छौं । यस्ता पार्टसहरु बाइकसँगै चीनबाट आउने भएकोले असहज अवस्था छैन । 

कोभिड–१९ का कारण आयात नहुँदा समस्या आउँछ कि भन्ने थियो । अलिअलि समस्या देखिए पनि यसले ठूलो अभावको अवस्था देखिएन । अहिले सहज भइसकेको छ । त्यसैले अब पार्टसहरु नपाउने अवस्था आउँदैन । हाम्रो मोटरसाइकलको स्पेयर पार्टसहरु अरु कम्पनीको बाइकको तुलनामा प्रतिस्पर्धी छ । अरुको तुलनामा हामीले बिक्री गर्ने मोटरसाइकलका पार्टसहरु बजारमा सस्तो पनि छ । 

नेपाली बजारमा तपाइँहरु बाइक बेच्न थाल्नुभएको पनि ५ वर्ष भइसक्यो । यो अवधिमा ग्राहकको फिडब्याक कस्तो पाउनुभएको छ ? 

तपाइँले भन्नुभएजस्तै हामी बिक्रीको क्षेत्रमा पाँचौं वर्षमा छौं । पछिल्लो समय ग्राहकहरुले बहुउपयोगी खालका बाइक चढ्ने चाहना राखेको हामीले पाएका छौं । ग्राहकको यस्तो चाहनालाई हामीले पूरा गर्दै आएका छौं भन्ने लाग्छ । 

धेरैजसो व्यापारिक क्षेत्रका व्यक्तिहरु, संघ संस्था, एनजीओ/आईएनजीओ र विद्यार्थीको रोजाइमा हाम्रो बाइक पर्ने गरेको हामीले पाएका छौं । त्यसैले ‘उच्च पावर पिकअप, आरामदायी र भ्यालु फर मनि’ हाम्रो स्लोगन नै भइसकेको छ । 

अब भावी दिनमा चाहिँ कसरी अघि बढ्ने योजना बनाउनुभएको छ ? 

अहिले रहेको ग्राहकको सन्तुष्टिलाई अझ बढाउने, ग्राहकमुखी सेवाको विस्तार गर्दै धेरै भन्दा धेरै क्षेत्रमा यसलाई विस्तार गर्दै जाने नै हाम्रो भावी योजना हो । मोटरहेड कम्पनीले  विश्व बजारमा उपलब्ध भएका नयाँ बाइकहरुलाई नेपाली माग र आवश्यकताअनुसार भित्र्याउने, बिक्री गर्ने र बिक्रीपछिको सेवालाई विस्तारित गरेर हामीले ग्राहकको सन्तुष्टिलाई पूरा गर्न सक्छौं भन्ने विश्वास राखेका छौं ।

प्रतिक्रिया दिनुहोस