
काठमाडौं । फागुन ७ गतेदेखि विक्रीमा आएको रू रू जलविद्युत परियोजना लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थायिनका लागि लागि आईपीओ विक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि प्रतिशेयर रू. १०० अंकित दरको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री खुला गरेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यो आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने मध्यम रुपको सुरक्षित संकेत गर्ने इक्रम एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।
हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म रू. ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ रहेको छ ।
यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले रू. ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ । जुन गत आवको तुलनामा रू. ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस