
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले अब अटो व्यवसायीहरूले सवारी साधानको खरिद बिक्रीमात्रै नगरेर उत्पादन गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । सरकारले अटो मोबाईल्स क्षेत्रलाई अर्थतन्त्र निर्माणको मेरुदण्डको रुपमा राखेकाले व्यवसायीको ध्यान खरिद बिक्रीमा भन्दा उत्पादनतर्फ केन्द्रीत हुनुपर्ने बताएका हुन् ।
नाडा अटो मोबाईल्स एशोसिएशन अफ नेपालको ४४ वार्षिक साधारण सभामा उनले सरकारले पेट्रोलियमको परनिर्भरतालाई विस्थापन गर्न विद्युतीय सवारी साधानलाई प्राथमिकता राखेर बजेट ल्याउने समेत उनले जानकारी दिए ।
सोही अवसरमा उनले अब राजनीतिक एजेण्डा छैन, सबै मिलिसक्यो अब सरकार समृद्धिको लागि आर्थिक एजेण्डा बोकेर अघि बढेको बताए । ‘पूर्व पश्चिमको राजमार्ग चार लाइनको बन्दैछ,’ उनले भने ‘काठमाडौंमा बाटो चौडा गर्नुका साथै करिडोर र फाईओभर, रिङरोड बन्दैछ ।’ गाडी जामको समस्यालाई कम गर्न काठमाडौंको ७÷८ स्थानमा फाइओभर बन्ने समेत उनले सो अवसरमा जानकारी दिए । यहि आर्थिक वर्षमा ३ वटा फाइओभर बनाउन सुरु हुने समेत उनले बताए ।
अटो मोबाईल्सलाई संकचित रुपमा हेरियोः शेखर गोल्छा
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको अटो मोबाईल्स क्षेत्रलाई हेर्ने धारण संकुचित भएको बताए । ‘हामी समृद्धिको कल्पना गर्छौ र यसको चाहना पनि राख्छौं, तर समृद्धिको वाहकको रुपमा रहेको अटो मोबाईल्स क्षेत्रको लगानीलाई अनुत्पादक र सवारी साधनले बाटो जाम गरेको संज्ञा दिन्छौ । ‘जबसम्म यस क्षेत्रलाई एक्सिस दिँदैनौ, तबसम्म समृद्धि सम्भव छैन ।
भन्सार महसुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिन अटो व्यवसायीको माग
सो अवसरमा अटो मोबाईल्स व्यवसायीले भने भन्सार महसुल र अन्तःशुल्कमा ५०/५० प्रतिशत कर छुटको माग राखेका छन् । व्यवसायीहरूले चार पाङग्रे र दुई पाङग्रे सवारी साधनमा कर छुट माग गरेका हुन् । नाडा अटो मोबाईल्स एशोसिएशन अफ नेपालको ४४ वार्षिक साधारण सभामा अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकार समक्ष यस्तो माग राखेका हुन् ।
सो अवसरमा अध्यक्ष दुलालले अटो मोबाईल्स क्षेत्र राज्यलाई सबै भन्दा बढी कर तिर्ने क्षेत्र भएको उनले बताए । ‘यो क्षेत्रले सरकारलाई सबैभन्दा बढी कर तिरेको छ,’ उनले भने ‘ कोभिडका कारण थलिएको व्यवसायलाई सरकारले दिएको आयकर र ब्याज छुटले केही राहत मिलेको पनि बताए । ‘ यस्तो अवस्थामा पनि राज्यले करका दर नघटाएको गुनासो उनले गरे । राज्यलाई सबैभन्दा बढी राजस्व तिर्ने र रोजगारी सिर्जना गर्ने अटोमोबाईल्स क्षेत्र हो,’ उनले भने ।
सो अवसरमा चार जना ट्राफिक प्रहरीलाई सम्मान गर्नुका साथै ट्रेड डाइरेक्टिभ पनि विमोचन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस