
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २६ करोडको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७४/७५ को लागि २०७५ साल पुस ९ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस समेत जोडेर १५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको जानकारी दिएको छ ।
उक्त बोनस शेयर वितरण गर्ने निर्णय भए पनि विशेष कारणबस सभा हुन नसकेको र सोको लागि बुक क्लोज पनि नभएकाले यस वर्ष समावेश गरिएको कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न चैत १७ गते १२औं, १३औं र १४ औं संयुक्त वार्षिक साधारण सभा बोलाएको छ ।
दिउँसो ३ बजे हुने सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस