
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २० गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । विहान ९ बजे होटल इस्टर्न प्यालेस प्रा.लि. इटहरीमा सभा बोलाईएको हो । यस वर्ष कम्पनीले सभाका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत सभाले गर्नेछ ।
साथै, अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ६० लाख रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस कम्पनीले रू. १ करोड ५८ लाख ८ हजार खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिमा कम्पनीले रू. ६३ लाख ७७ हजार मात्र यो नाफा गरेको थियो । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ३ करोड ७८ लाख ७९ हजार कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. २ करोड १२ लाख ४६ हजार थियो ।
प्रतिक्रिया दिनुहोस