aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ज्योति लाईफ आईपीओमा ५ दशमलव ७४ गुणा बढी आवेदन, बुधवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
ज्योति लाईफ आईपीओमा ५ दशमलव ७४ गुणा बढी आवेदन, बुधवार अन्तिम दिन

 काठमाडौं । फागुन २१ गते शुक्रवारदेखि विक्री खुला भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने बुधवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले  कम्पनीले छिटो अवधिभित्रै विक्री बन्द गर्न लागेको हो । 

मंगलवार साझ ६ बजेसम्म यस कम्पनीको आईपीओ खरिदका लागि १६ लाख ४ हजार १४९ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यी आवेदकहरुबाट ३ करोड ४१ लाख २१ हजार ७८० कित्ताको खरिद माग भएको सिडिएससीको भनाई छ । जुन मागभन्दा ५ दशमलव ७४ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।

 हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६÷७७ सम्म प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २८ करोड ६४ लाख १ हजार छ ।

प्रतिक्रिया दिनुहोस