aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ फागुन २०७७
वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो । 
    
भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल सरकार र बङ्गलादेश सरकार ९सरकार–सरकारबीच (जिटुजी) सम्झौताअनुसारको पहिलो चरणको रासायनिक मल नेपाल आइपुगेको हो । 

बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो चरणमा कोलकातामा २२ हजार ५०० टन रासायनिक मल ल्याइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार कोलकाताबाट रेल तथा ट्रकमार्फत नेपालमा ल्याईनेछ । 

गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए। यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिडिसकेको छ । रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । 

बङ्गलादेशसँग प्रति मेट्रिक टन २५९।१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि सामग्री कम्पनीबाट रासायनिक मल खरीदको अन्तिम सम्झौताअुनसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलरमा सम्झौता भएको हो ।

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअुनसार कृषि सामग्री कम्पनीले मल खरीदको तयारी गरेको थियो । तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । 

सम्झौता भएको साढे तीन महिनापछि पहिलो चरणको मल नेपाल आइपुग्न लागेको हो । कृषि सागम्री कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस