aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप १० संस्थालाई बोर्डले दियो बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ फागुन २०७७
थप १० संस्थालाई बोर्डले दियो बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्न अनुमति

काठमाडौं । बुक विल्डिङ बिधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्नका लागि थप १० सस्थालाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । यस अघि ६४ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेको बोर्डले फागुन २५ गते थप १० संस्थाहरुलाई स्वीकृति दिएको हो । 

थपिएका कम्पनीहरुमा उषा इन्मेष्टमेण्ट, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गुडवील फाइनान्स, युनाइटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावर, विशाल ग्रुप लिमिटेड, श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेण्ट प्रालि, प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनी प्रालि र सिड इन्फ्रा प्रालि रहेका छन् । 

यी संस्थागत लगानीकर्ताहरुले बुक विल्डिङ मार्फत सार्वजनिक निष्कासनमा आउँने शेयरको आशय मूल्य तोक्न सहयोग गर्नेछन् । अहिलेको शेयर लिलामी प्रकृयाकै स्वरुपमा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन हुनेछ । 

यो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ । आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।

स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययन पश्चात सूसुचित तवरले मूल्य पेश गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ । 

वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा भित्र्याउने उदेश्यका साथ बोर्डले गत साउन २८ गतेदेखि लागू गरेको हो । यो विधि लागू नहुदैं धितोपत्र बजारमा शिवम् सिमेण्ट्सले प्रिमियममा आईपीओ जारी गरेको थियो । वास्तविक क्षेत्रका कम्पनीहरुको आईपीओको मूल्य बजारलनै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ बिधि लागू गरेको हो । यस विधिबाट सर्वोत्तम सिमेण्ट्सले सबैभन्दा पहिला आईपीओ विक्रीमा ल्याउने भएको छ । वार्षिक साधारण सभामार्फत पारित गरिसकेको कम्पनीले केहि समयभित्रै प्रकृया अघि बढाउँने बताएको छ ।

बुक विल्डिङ विधिमार्फत निष्कासित शेयरमा संस्थागत लगानीकर्ताको रुपमा सूचीकृत कम्पनी, सामूहिक लगानीकोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना , मान्यता प्राप्त अवकाश कोष , मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम रू. १० करोड भएका धितोपत्र लगानी गर्ने उदेश्यले स्थापित लगानी कम्पनीहरु रहन पाउने व्यवस्था छ । बोर्डले गत भदौ ३ गते सुचना जारी गरी बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा लगानी गर्नका लागि संस्थागत लगानीकर्ताको स्वीकृति लिन आग्रह गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस