
काठमाडौं । २०१४ मा उरुग्वेका राष्ट्रपति जोस मुजाकालाई उरुग्वेलाई संसारकै पहिलो गाँजाको उत्पादन र बिक्रीलाई वैध बनाउने देश बनाउन सफल बनेकोमा नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको थियो। महिनावारी हुँदाको पिडा निकै धेरै हुन थाले पछि सन् १८०० महारानी भिक्टोरियालाई गाँजाको औषधि दिइएको थियो। संसारमा सबैभन्दा पहिले मेडिकल एनेस्थेसियाको रूपमा चाइनिज सर्जनले गाँजाको प्रयोग गरेका थिए ।
इन्टरनेटमा सबैभन्दा पहिले अनलाइन बेचिएको चिज पनि गाँजा नै थियो । आज बजारमा बिक्रीमा रहेका बियर तितो(टर्रो हुनुको कारण त्यसमा हालिएको होप हो । जुन गाँजा प्रजातिकै बिरुवाबाट बन्ने गर्छ । अमेरिकाका जर्ज वासिङ्टन आफैले माउन्ट भेरोनमा गाँजा लगाएका थिए जसलाई उनले पछि गाँजाको प्रजाति हेम्प भएको बताएका थिए । अमेरिकाको अलस्कामा १९७५ देखि नै घरेलु प्रयोजनमा गाँजा खानु कानुनी रूपमै अनुमति थियो । गाँजालाई संसारमै सबैभन्दा पहिले २०१३ मा उरुग्वेले मुलुकभर कानुनी मान्यता दिएको थियो ।
क्यानडाले २००१ देखि मेडिकल उद्देश्यको लागि गाँजा वैधानिक बनाएको थियो। मनोरञ्जन प्रयोजनमा गाँजाको प्रयोग मुलुकभर कानुनी बनाउन क्यानडालाई १७ वर्ष लाग्यो। कानुन बनेपछि पनि व्यवहारिक रूपमा मनोरञ्जन प्रयोजनको लागि गाँजाको बजारमा उपलब्ध गराउन १ वर्ष र खानेकुरामा हाली ईडिबलका रूपमा गाँजा मिश्रित खाद्य ताता पेय बजारमा ल्याउन क्यानडालाई २ वर्ष लाग्यो ।
आयुर्वेदका अनुसार समेत गाँजा शरीरको दर्द नाशक अचुक उपाय हो । मानिसमा पाचन गडबडी र झाडापखाला ठिक पार्ने, डिप्रेसन, छारे रोग लगायत धेरै मनोवैज्ञानिक रोगको निदानमा यसले ओखतीको काम गर्छ । गाँजा सेवनले पुरुषमा शुक्रकीट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवासको क्षमता वृद्धि गर्ने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने आदि अब्बल गुणका कारण कम्तीमा ८० वटा प्राचिन आयुर्वेदिक औषधीको सूत्रमा र ८ वोटा यूनानि फर्मुलामा गाँजा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधी बनाउने गरेको तथ्यसमेत भेटिएको छ ।
नेपालको वातावरणमा गाँजा खेती घरबाहिर जताततै हुने हुँदा विभिन्न भागमा विभिन्न मौसममा उम्रने गाँजाको गुणस्तर फरक फरक हुने पाइएको छ । नेपाली गाँजाको रैथाने प्रजाति सेटिभा र इन्डिका उच्च गुणस्तरको हुने हुँदा उच्च गुणस्तरको चरेसका लागि नेपाल संसारका गाँजाका पारखीबीच प्रख्यात छ ।
नेपालमा झुसिलो कोपिला हुने मध्यम कडा १४ देखि १७ प्रतिशतसम्म टीएचसी हुने गाँजा फल्ने गर्छ । थोरै तर बाक्लो झुस हुने नेपाली गाँजाको कोपिला लछप्पै परेको गुलियो, कागतीको बोक्रा, लेभेन्डर र सल्लोको जस्तो मिश्रित बासनादार दिने, च्यापच्याप लाग्ने रेजिनले भरिपूर्ण हुने गर्छ । गहिरो गरी सुँघ्दा यसमा थप माटो, काठ र फूलमिश्रित बासना समेत आउँछ ।
सेटिभा र इन्डिका जातको गाँजाको हाइब्रिड सिड बनाएर बनाइएको ‘रोयल मोब’ जात बजारमा निकै बिक्री भएको भेटिन्छ । उदाहरणका लागि उत्तरी क्यालिफोर्नियाको गाँजा ओजी कुशका नाममा बजारमा भेटिन्छ भने इन्डिका जातको गाँजालाई स्पेसल कुशका नाममा बिक्री गरिँदै आएको छ । नेपालमा हुने बाहिरी वातावरणमा हुर्कने उच्च सेटिभा जातको गाँजा अफ्रिका हुदै नेदरल्यान्ड्स पुगी लगभग ८८ प्रतिशत सेटिभा जातसँग मिल्दोजुल्दो हुने गरी इन्डोर खेती हुने सेटिभाको हाइब्रिड जात बन्यो ।
लगभग आधा आउटडोर र आधा इन्डोर खेती गरिएको गाँजालाई मिसाएर ‘पावर फ्लावर’ नाम दिइयो । जुन आजको सबैभन्दा प्रख्यात र उच्च माग रहेको सेटिभाको हाइब्रिड गाँजा हो । यसरी समयक्रममा नेपालको सेटिभा र इन्डिका प्रजातिको क्रस गरी संसारमा आज धेरै हाइब्रिड जातका गाँजाका बिउ बनाएर विकास गर्दै संसारले गुणस्तरीय गाँजाका नाममा कारोबार गरिएको छ । नेपालमा गाँजाले कानुनी रुप पाउदा सेटिभा र इन्डिका दुवैले विश्व बजारमा उच्च मूल्य पाउनेमा कुनै दुबिधा छैन ।
प्रतिक्रिया दिनुहोस