
काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडले चैत २० गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । होटल साँग्रिला भिलेज, पोखरामा विहान ११ बजे सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चातको पहिलो वार्षिक साधारण सभा गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारणमा गत मंसिरमा आईपीओ जारी गरेको थियो । त्यस अघि असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरेको थियो । यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २७ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी रू. १ करोड ६ लाख २८ हजार खुद नोक्सानीमा थियो । यस वर्ष कुल आम्दानी बढेसँगै कम्पनीले नाफा गर्न सफल भएको हो । गत वर्ष विद्युत विक्रीबा रू. ४ करोड ४८ लाख ७७ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ५१ लाख ५५ हजार आम्दानी गरेको हो ।
गत वर्ष शून्य रहेको अन्य स्रोतको आम्दानी यस वर्ष रू. १ करोड १३ लाख रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल आम्दानी रू. ४ करोड १५ लाख ७८ हजार बढी भएको हो । हाल कम्पनीको चुुक्तापूँजी रू. ४२ करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम भने रू. ४ करोड २३ लाख ७६ हजार ऋणात्मक रहेको छ ।
दिर्घकालिन कर्जा रू. १ अर्ब ९७ लाख ९७ हजार लिएको कम्पनीको कुल चालू सम्पत्ति रू. ४ करोड २६ लाख ७६ हजार र कुल चालू दायित्व रू. १ करोड ९८ लाख २६ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ३६ र प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ९१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस