
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २२५ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन २९ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय, सप्तरीमा विहान ११ बजे सभा गर्न लागेको हो । सभाले प्रस्तावित २१ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश तिवरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय प्रतिवेदन सहित चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । साथै, प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ ।
सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट चार र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ गरी ६ सञ्चालकको निर्वाचन समेत गर्नेछ । अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १० एक दिन बुक कलोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा १० दशमलव ५३ प्रतिशत कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र ११ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड ६६ लाख २० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस