aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल हाइड्रो र महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
नेपाल हाइड्रो र महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं  । नेपाल हाइड्रो डेभलोपर लिमिटेड र महालक्ष्मी विकास बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत ३ गते मंगलवारदेखि बुक क्लोज गर्ने भएकाले चैत २ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

नेपाल हाइड्रो डेभलपोपरले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी रू. २६ करोडको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले आर्थिक वर्ष ०७४/७५ को लागि २०७५ साल पुस ९ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस समेत जोडेर १५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको जानकारी दिएको छ । उक्त बोनस शेयर वितरण गर्ने निर्णय भए पनि विशेष कारणबस सभा हुन नसकेको र सोको लागि बुक क्लोज पनि नभएकाले यस वर्ष समावेश गरिएको कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न चैत १७ गते १२औं, १३औं र १४ औं संयुक्त वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै महालक्ष्मी विकास बैंकले चैत १३ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्ताव समेत पारित गर्नेछ । 

कम्पनीले यस वर्ष ८ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै हाल कायम रहेको संस्थापकतर्फको ५२ दशमलव ४९ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४७ दशमलव ५१ प्रतिशतले ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय पनि सभाले गर्नेछ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७ करोड २० लाख ६१ हजार चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि चैत ३ गते देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । यी दुबै कम्पनीले चैत ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेभएकाले चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने भएका हुन ।
 

प्रतिक्रिया दिनुहोस