
काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा २५ अर्ब ३ करोड बराबरको धितोपत्र निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले १० अर्ब ९३ करोड रुपैयाँ बराबरको साधारण शेयर, १० अर्ब ६४ करोड रुपैयाँ बराबरको डिबेन्चर, १ अर्ब ९६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र १ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्डले शेयर निष्कासनको अनुमति पाएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
२०७७ माघ मसान्तमा धितोपत्र बजार पँुजीकरण ३४०६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु. १७९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । २०७७ माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१६ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७२.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.२ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ माघसम्ममा सूचीकृत ५ अर्ब ४० करोड शेयरको चुक्ता मूल्य ५३० अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस