aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
कृषि

महिनामा साढे ४ अर्बको चामल आयत गरेर भात खान्छन् नेपाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
महिनामा साढे ४ अर्बको चामल आयत गरेर भात खान्छन् नेपाली

काठमाडौं ।  महिना ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको चामल आयात गरेर नेपालीहरूले भात खाने गरेका छन् । अन्तर्राष्ट्रिय रिसर्चले पनि नेपालमा सरदर एक नेपालीले वर्षेनि १३८ किलो चामल खपत गर्ने गरेको उल्लेख गरिएको छ । ‘पहिले मकै, कोदो र फापर पनि खाने गरेकाले पनि पछिल्लो समय चामल खाने गरेका छन् । जसको कारणले यसको खपत बढ्दो क्रममा छ । इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युका अनुसार नेपाल एशियामै सबैभन्दा धेरै चामल खपत गर्ने देशमा परेको छ । 

नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुने गरेको छ । यो वर्ष नेपालको इतिहासमै सबैभन्दा बढी धान फलेको छ । यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । कृषि प्रधान देश जहाँको अर्थतन्त्रमा २७ प्रतिशत हिस्सा कृषि क्षेत्रको रहेको छ । दुई तिहाई जनसंख्या कृषि पेशामा सम्लग्न भइरहेकै बेला ७ महिनामै साढे ३० अर्ब भन्दा बढीको चामल आयात भएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवमा साउनदेखि माघसम्म ३० अर्ब ६५ करोड ९० लाखभन्दा चामल आयात भएको छ । गत आर्थिक वर्षको पहिलो ७ महिनामा १८अर्ब ८१ करोड ६५ लाख रुपैयाँको चामल आयात भएको थियो । धान बढी फलेकै वर्ष आयात भएको चामल गत आवको सोही अवधिकोभन्दा करिब ६३ प्रतिशतले बढी हो । कुल आयातमा चामलको हिस्सा ३.८ प्रतिशत रहेको छ । हाल नेपालमा भारतबाटमात्रै नभइ विभिन्न देशबाट चामल आयात हुने गरेको तथ्यांकले देखाएको छ । 

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको तथ्यांक अनुसार नेपालमा ६ दशक अगाडिसम्म प्रति हेक्टरमा खेतमा १.९ मेट्रिक टन धान फल्थ्यो । यो अवधिमा उत्पादन क्षमता बढेर करीब दोब्बर भएको  छ। गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर करीब ३.८ मेट्रिक टन पुगेको छ । तर, पनि यसले धान्न सकेको छैन । धान उत्पादन दोब्बर भएपनि ६० वर्षअघिको तुलनामा खाने मुख भने तेब्बरले बढिसकेको छ । २०१८ सालमा ९४ लाख हाराहारीमा रहेको जनसंख्या अहिले ३ करोड नाघेको छ । जनसंख्या वृद्धिको अनुपातमा धानको उत्पादन नबढेको र बढिरहेको चामलको माग थेग्न आयातमा भर पर्नु परेकोले चामलको आयात बढेको हो । 

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको तथ्यांक अनुसार, वि.सं. २०१८ मा नेपालमा एक हेक्टर खेतमा १.९ मेट्रिक टन धान फल्थ्यो। ६० वर्षपछि अहिले त्यो करीब दोब्बर भएको छ । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर करीब ३.८ मेट्रिक टन पुगेको छ । ६० वर्षअघिको तुलनामा खाने मुख भने तेब्बर बढिसकेका छन् । 

सरकारले कृषिमा बजेट बढाउँदै लगेर पनि उत्पादन भने खासै उत्साहजनक रुपमा हुन सकेको देखिदैन । स्थानीयस्तरमा उत्पादन बढे पनि आयात कम नहुँदा मुलुकमा परनिर्भरता बढ्दै गएको देखिन्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि अर्बांै रुपैयाँको खाद्यान्न आयात हुने गरेको हो । खेतीयोग्य जमिन खडेरीमा प्रयोग हुनु, खेती गर्ने जनशक्तिको अभाव, खानेबानीमा परिवर्तन लगायतले गर्दा पनि चामलको आयात बढ्दै गएको कृषि विज्ञहरूको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस