
काठमाडौं । व्यवसायिक सफलतालाई निरन्तर संघर्षको प्रतिफलको रुपमा व्याख्या गर्नेहरु धेरै छन् । तर, व्यवहारमा सँधैं त्यस्तो लागू नहुन पनि सक्छ । कोही निरन्तर संघर्ष गरे पनि असफल भइरहेका हुन्छन् । कोही चाहिँ छोटो प्रयासमै सफलताको शिखरमा चढेका पनि हुन्छन् ।
छोटो समयमै नेपालको व्यवसायिक क्षेत्रमा सफलता प्राप्त गरेको एउटा कम्पनी हो, क्यास अन ह्विल । भर्चुअल माध्यमबाट सवारीसाधनको खरिदबिक्री गर्ने प्लेटफर्मको रुपमा ५ महिनाअघि कारोबार सञ्चालन गरेको यो कम्पनीले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरिसकेको छ । यो सफलताबाट उत्साहित भएको कम्पनीले आफ्नो व्यवसाय विस्तारलाई थप तीव्रता दिन सुरु गरेको छ ।
के हो क्यास अन ह्विल ?
कोभिड–१९ सुरु भएपछि विश्वभरि नै लकडाउनको अवस्था भयो । भौतिक आवागमन प्रभावित हुँदा यो अवधिमा विश्वले भर्चुअल क्षेत्रमा निकै धेरै प्रगति गर्यो । भौतिक रुपमा गरिने धेरैजसो कारोबारहरुलाई अनलाइन प्रविधिमा लगियो । हजारौंको सहभागिता रहने सभासमारोह समेत त्यतिबेला भर्चुअल माध्यमबाट गर्ने व्यवस्था भयो ।
भर्चुअल प्रविधिको पहुँच र प्रयोगमा व्यापक सुधार हुँदा सबैजसो क्षेत्रमा प्रविधिको प्रयोगको आवश्यकता बढ्दै गयो । मानिसभित्रको त्यही सुसुप्त आवश्यकतालाई ‘क्यास’ गर्न क्यास अन ह्विल सफल भएको छ ।
कुनै व्यक्तिले आफूसँग भएको सवारी साधन बिक्री गर्न चाह्यो भने उसले एक्सचेञ्ज कम्पनीलाई सम्झिन्छ । तर, त्यहाँ जाँदैगर्दा आफ्नो सवारी साधनको उचित मूूल्य नआउने हो कि भन्ने चिन्ता त्यो व्यक्तिमा हुन्छ । त्योभन्दा धेरै चिन्ता किन्ने व्यक्तिलाई हुन्छ । वर्षौं मिहिनेत गरेर कमाएको धन कमसल सवारीसाधनमा फस्ने हो कि भन्ने चिन्ता उनीहरुलाई हुन्छ । तर, क्यास अन ह्विलले यी सबै चिन्तालाई समाधान गर्ने कम्पनीका कन्ट्री हेड मोहन भण्डारी बताउँछन् ।
‘ह्यासल फ्रि, ट्रान्सपरेसी र पिस अफ माइन्ड’ भन्ने नारा बोकेर अघि बढेको यो कम्पनीले अहिले ग्राहकले भोग्नुपरेका यही तीन प्रकारका समस्या समाधान गर्ने रणनीति लिएको छ । कन्ट्री हेड भण्डारी बताउँछन् ।
‘ग्राहकहरु आफूले गाडी बेच्दा उचित मूल्य नपाउने हो कि भन्ने चिन्तामा हुने गरेको हामीले पाएका छौं । हामीकहाँ अनुुभवी भ्यालुुएटरहरुले गाडीको मूल्यांकन गरेर उचित मूल्य निर्धारण गर्नुहुन्छ, ग्राहकले उचित मूल्य पाउने ग्यारेन्टी हामीले गरेका छौं,’ भण्डारी भन्छन्, ‘हाम्रो सर्भिस बापत लिने शुल्क फिक्स्ड छ । हामीले ३० लाखभन्दा बढीको गाडीमा ५० हजार रुपैयाँ र त्योभन्दा कम मूल्यको गाडीमा २५ हजार शुल्क लिने गरेका छौं । त्यसबाहेक अरु कुनै लागत तिर्नु पर्दैन । ग्राहकले पाएको मूल्य, तिरेको कमिसन, सरकारी राजश्व, मर्मत लगायत सबै खर्चहरु पारदर्शी हुन्छन् ।’
गाडीको किनबेचमा ग्राहकले भोग्ने अर्को समस्या भुक्तानी लगायत अन्य प्राविधिक समस्या पनि हो । धेरैजसोले आंशिक रुपमा भुक्तानी गरेर अरु उधारो गर्ने, गाडी पास नै नगरी चलाउने लगायत समस्या हुने गरेको उनको अनुभव छ । भण्डारी भन्छन्, ‘हामीकहाँ आउने ग्राहकले नगद पैसा पाउनुहुन्छ । गाडी पास हुनेबित्तिकै बैंक खातामा रकम ट्रान्सफर हुन्छ । किन्ने ग्राहकले पनि पास भएर ढुक्कसँग गाडी पाउने अवस्था हुन्छ ।’
तेस्रो, पिस अफ माइन्ड अर्थात् मनको शान्ति हो । भण्डारीका अनुसार गाडी बेच्ने बेलामा एउटा बिक्रेताले धेरै झन्झट व्यहोर्नुपर्छ । सामाजिक सञ्जालमा विज्ञापन गर्दा अनावश्यक फोन उठाउनुपर्ने झन्झट हुुन्छ । यसले कतिपयको व्यवसायिक वा पेशागत जीवनमै असर पार्छ । रातीको समयमा समेत आउने फोनले कतिपयलाई निकै समस्या हुुन्छ । उनी भन्छन्, ‘हामीमार्फत् कारोबार गर्दा त्यस्तो हुँदैन । हामीले सम्भावित ग्राहकको फोन लिन्छौं, उहाँमध्ये सम्भावित ग्राहक छनौट गर्छौं । उहाँहरुलाई कन्भिन्स गराएपछि मात्रै हामीले गाडी धनीलाई बोलाउँछौं । यसले गर्दा ग्राहकले अनावश्यक तनाव व्यहोर्नु पर्दैन ।’
कसरी हुन्छ किनबेच ?
कुनै व्यक्तिले आफ्नो गाडी बेच्न चाह्यो भने उनले क्यास अन ह्विलसँग कुनै पनि माध्यमबाट जोडिएर त्यसको जानकारी दिन सक्छ । फेसबुक, म्यासेञ्जर, भाइबर, ह्वाट्सएप लगायत सबै प्रकारका सामाजिक सञ्जाल, फोन वा इमेलबाट पनि यस्तो जानकारी दिन सकिने व्यवस्था मिलाइएको छ ।
त्यस्तो जानकारी दिनेबित्तिकै क्यास अन ह्विलका अनुभवी कर्मचारीले सम्बन्धित ग्राहकसँग प्रत्यक्ष सम्पर्क गरेर विस्तृत कुराकानी गर्छन् । यदि ग्राहकले गाडी बेच्ने निर्णय गर्यो भने त्यसपछि दोस्रो चरणको प्रक्रिया सुरु हुन्छ ।
यसअन्तर्गत गाडीको स्पेक्सन रिपोर्ट निकाल्ने काम हुन्छ । यो रिपोर्ट अनुसार भ्यालुएटरले भ्यालुएससन गर्ने काम गर्छ । कम्पनीका कन्ट्रिी हेड भण्डारी भन्छन्, ‘प्रत्येक गाडीमा स्पेक्सनको १२० वटा प्वाइन्ट हुन्छ, हाम्रा अनुभवी इन्जिनियरहरुले यसको रिपोर्ट निकाल्नुहुन्छ । यो रिपोर्टको आधारमा अनुभवी भ्यालुएटरले सो गाडीको भ्यालुएसन गर्नुहुन्छ ।’
सो कम्पनीले गरेको भ्यालुएसनलाई ग्राहकले चित्त बुझाएमा कम्पनीका फोटोग्राफरले सो गाडीको फोटो खिच्छन् । सोही फोटो, स्पेक्सन रिपोर्ट र मूल्यांकनका आधारमा सो गाडीको विज्ञापन गरिन्छ । अहिले यस्तो विज्ञापनका लागि विभिन्न अनलाइन, पोष्टर, बोर्ड, सामाजिक सञ्जाल र कम्पनीको आफ्नै वेभसाइटको प्रयोग गर्ने गरिएको भण्डारीको भनाई छ ।
यसरी विज्ञापन गरेपछि आउने फोनलाई क्यास अन ह्विलले सम्भाव्यताको आधारमा सर्टलिष्टिङ गर्छ । त्यसपछि सुरुमा ग्राहकलाई त्यही फोटो, भिडियो र रिपोर्टका आधारमा गाडीबारे ब्रिफिङ गर्छ । ग्राहक गाडी किन्न तयार भएपछि मात्रै गाडीधनीलाई बोलाइन्छ । त्यसपछि कम्पनीकै रोहवरमा दर्ता र नामसारीको प्रक्रिया सुरु हुन्छ । त्यो प्रक्रियामा सवारीसाधन बिक्री नभएसम्म गाडीधनीसँगै हुन्छ ।
लागत कम हुुँदा ग्राहकलाई फाइदा
यो कम्पनीको सबैभन्दा राम्रो विशेषत भनेको लागत कम लाग्नु नै हो । अरु एक्सचेञ्ज कम्पनीहरु भौतिक पार्किङमा आधारित हुन्छन् । एउटा एक्सचेञ्जमा २०/२५ वटा भन्दा बढी गाडी अट्दैन । पार्किङ शुल्क पनि महँगो पर्छ । गाडी किन्नेले राम्रोसँग गाडी छान्ने अवसर पनि थोरै पाउँछन् ।
तर, यो भर्चुअल पार्किङ भएकोले यसमा पार्किङ र छनौट असीमित हुुने भण्डारी बताउँछन् । ‘हामी एकैपटक हजारौं गाडी पार्किङ गर्न सक्छौं । केच्न सक्छौं । भौतिक रुपमा राख्नु नपर्ने भएकोले हाम्रो लागत सस्तो पर्छ । त्यसैले थोरै मार्जिनमै हामी काम गर्न सक्छौं ।’
त्यसो त, यो कम्पनीले गाडी बेच्ने ग्राहकसँग स्पेक्सन शुल्क पनि लिँदैन । ‘एउटा गाडीको स्पेक्सन गर्न इन्जिनियरले कम्तीमा पनि २ घण्टा समय दिनुपर्छ । यसका लागि शुल्क लाग्छ,’ कन्ट्री हेड भण्डारी भन्छन्, ‘हामी स्पेक्सन, भ्यालुएसन, फोटोग्राफी केहीको पनि शुल्क लिँदैनौं । ग्राहकलाई यो सबै सेवा निःशुल्क उपलब्ध छ ।’
‘नेपाली ग्राहक अचम्मका रहेछन्’
कोभिडको समयमा व्यवसाय सुुरु गर्दा क्यास अन ह्विललाई एउटा छुट्टै प्रकारको आशंका थियो । लकडाउनको समयमा मानिसको आयस्तर घटेकोले सवारीसाधनको एक्सचेञ्जमा ध्यान नजाने सम्भावना थियो । यस्तो अवस्थामा कम्पनीले पिकअप लिन गाह्रो हुन सक्थ्यो ।
तर, अहिले यो आशंका गलत सावित भएको छ । कम्पनीका कन्ट्री हेड भण्डारी भन्छन्, ‘मलाई त नेपाली ग्राहकको क्षमता र शोख देखेर अचम्म लाग्यो । महामारीको समयमा पनि नयाँ नयाँ गाडी चढ्ने उहाँहरुको सौखमा कुनै कमी आएन । महामारी नै भए पनि ग्राहकको नयाँ नयाँ गाडी चढ्ने रुचि बदलिएको पाइएन ।’
हालसम्म सो कम्पनीमा आएका ग्राहकमध्ये करिब ३० प्रतिशत नयाँ गाडी किन्ने सोच आएको, ५० प्रतिशत अरु गाडीको अनुभव लिने उद्देश्यले आएको र बाँकी करिब २० प्रतिशत मात्रै पैसा चाहिएर गाडी बेच्न आँटेको अवस्था देखेको भण्डारीले सुनाए ।
दुुबईको आईडिया, ५ महिनामै सफलता
भर्चुअल पार्किङ र प्रविधिमार्फत् गाडीको खरिदबिक्री गर्ने यो आईडिया भण्डारीले दुबईबाट सिकेका हुन् । त्यहाँ अधिकांश कारोबारहरु यस्तै तरिकाले हुने गरेको उनले सुनाए । लकडाउनको समयमा नेपालमा बढेको अनलाइन पहुँच र प्रयोगलाई क्यास गर्न सो कम्पनीले गत कात्तिकदेखि मात्रै आफ्नो सेवा सुरु गरेको हो ।
५ महिनाको यो अवधिमा १ सय १२ वटा गाडीको खरिदबिक्री गरिसकेको छ । पछिल्लो महिनामा यो संख्या उच्च रुपमा बढ्दै गएको भण्डारी बताउँछन् । प्रयोग सफल भएसँगै अहिले सो कम्पनीले आफ्नो नेटवर्क र क्षमता विस्तार गर्दै गएको छ ।
नेटवर्क विस्तार अन्तर्गत पोखरा र इटहरीमा शाखा कार्यालय सञ्चालन गरिसकेको छ । छिटै वुटवलमा समेत शाखा विस्तार हुन लागेको छ । यी शाखा कार्यालयबाट समेत अनलाइनमा रहेका गाडीको बारेमा सम्पूर्ण रिपोर्ट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उपत्यका बाहिर यस्तो सेवा विस्तार भएपछि अब गाडी किन्ने र बेच्ने काम उपत्यकामा मात्रै सीमित भएर बस्नुपर्ने अवस्थाको अन्त्य समेत भएको उनको भनाई छ ।
अहिले कम्पनीले काठमाडौंको सुकेधारामा विशाल शोरुम र सर्भिस सेन्टर समेत बनाइरहेको छ । बिक्रीको क्रममा र बिक्रीपछिको सेवाको लागि समेत विश्वसनीय सर्भिस सेन्टरको माग भएपछि यस्तो पूर्वाधार निर्माण गर्न लागेको भण्डारीको भनाई छ ।
अहिले ४ पाङ्ग्रे सवारीसाधनको मात्रै कारोबार गर्दै आएको सो कम्पनी निकट भविष्यमै २ पाङ्ग्रेमा समेत जाने योजना समेत बनाएको छ ।
रिफर गर्नेलाई २० हजारसम्मको भौचर
आफ्नो सेवाको व्यापक प्रचारप्रसार गर्ने रणनीति अन्तर्गत अहिले सो कम्पनीले नेटवर्किङ विधिलाई आत्मसात गरेको छ । जसअनुसार कुनै व्यक्तिले गाडी किन्न वा बेच्ने व्यवस्था मिलाइदियो भने खरिदबिक्री भएपछि त्यस्तो व्यक्तिले २० हजारसम्मको कुपन प्राप्त गर्नेछन् ।
सो कम्पनीले ३० लाखभन्दा बढीको गाडी खरिदबिक्रीमा अर्गानो रेष्टुरेन्ट र भाटभटेनी सुुपरमार्केटको १०/१० हजारको र सोभन्दा कम मूल्यको खरिदबिक्रीमा ५/५ हजारको भौचर दिने व्यवस्था गरेको जनाएको छ । यो अफरले गर्दा क्यास अन ह्विलको बारेमा थाहा पाउने व्यक्तिले अर्को व्यक्तिलाई रिफर गर्न प्रोत्साहन मिल्ने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस