
काठमाडौं । अहिले विदेशमा श्रम गर्न जाने भन्दा स्वदेश फर्किनेको सङ्ख्या नै बढी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कमा देखिन्छ ।
रोजगार विभागका अनुसार फागुन महिनामा मात्रै वैदेशिक रोजगारीमा रहेका ५८ हजार ९ सय ६८ जना श्रमिकहरू नेपाल फर्किए । यो सङ्ख्या दैनिक करिब २ हजार हाराहारीको हो । तर, यस अवधिमा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या दैनिक १ हजारको हाराहारीमा छ ।
यसले के देखाउँछ भने कोरोना महामारीले श्रम बजारमा निकै नै ठुलो असर पारेको छ । यस्तो असर किन देखियो भने श्रम बजारमा दक्ष जनशक्ति कम छ । नेपाल जस्तो तेस्रो मुलुकमा मात्र होइन की अमेरिकामा समेत यहिखालको स्थिति तथ्याङ्कले देखाउँछ ।
अमेरिकाकै कुरा गर्ने हो भने पनि अहिले ९.५ मिलियन रोजगारीमा गिरावट आएको छ । जसले गर्दा त्यहाँको अर्थतन्त्र मन्दीको चरणमा गइरहेको देखिन्छ । भलै, अमेरिकी सरकारले अर्थतन्त्रलाई पुनर्जागृत गर्न इतिहासकै सर्वाधिक ठुलो १९ बिलियन डलरको राहत प्याकेज घोषण गरेको छ ।
त्यसो त महामारीले मानिसहरूलाई भौतिकरुपमा नै उपस्थित भएर काम गर्नु पर्ने बाध्यतासमेत छुट गराएको छ । यसले गर्दा प्रविधिको अति प्रयोगका कारण रोजगारीमा कटौती स्वभाविकरुपमा भई नै रहेको छ ।
त्यसबाहेक ठुलो मात्रामा मानिसहरू बेरोजगार बन्दा रोजगारदाताहरुले उच्च स्तरको दक्षता हासिल गरेको मानिसहरूलाई मात्रै छानिछानी काममा लगाउने सुविधासमेत प्राप्त गरिरहेका छन् । जसका कारण अर्धदक्ष मानिसहरुसमेत रोजगारी प्राप्त गर्नबाट वञ्चित बनिरहेका छन् ।
रोजगारीमा भएको कटौतीको अर्को असर वस्तु आपूर्ति क्षेत्रमासमेत देखिएको छ । बजारमा धेरै वस्तुहरूको आपूर्तिमा समस्यादेखि पर्दा त्यसको मूल्यमा उच्च वृद्धि देखिएको छ । अहिले विशेषगरि इलेक्ट्रोनिक उपकरणहरूको आपूर्तिमा समस्या हुँदा अनपेक्षित ढङ्गले मूल्यवृद्धि भएको छ ।
कोरोनाकलामा उत्पादनमा भएको कमी र त्यसपछि लगतै आपूर्ति श्रृखलामा परेको समस्याका कारण उत्पन्न परिवेशले फेरि पनि श्रम बजारमा नै असर पार्ने हुन्छ । यसको असरले फेरि अन्ततोगत्वा आर्थिकमन्दि सिर्जना गर्ने र श्रम बजारलाई थपरुपमा सङ्कटग्रस्त पार्ने देखिएको छ ।
यदि श्रम बजारमा देखिएको समस्यालाई हल गर्नेगरि सरकारले नीति निर्माण गर्ने हो भने उत्पादन र आपूर्ति श्रृखलामा नियमितता आउन सक्छ । जसका लागि श्रमिकहरूलाई आवश्यक सिप र तालिमद्वारा दक्ष बनाउने काममा रोजगारदाताहरुले पनि ध्यान दिन आवश्यक छ ।
बजारमा अहिले सबै कुराको अभाव देखा परेको छ । जसको आपूर्तिका लागि वस्तुको उत्पादन अनिवार्य छ । त्यसैले यो अवस्थालाई लामो समयसम्म नराख्न र माग तथा आपूर्तिको सन्तुलन कायम गर्नमा मात्र पनि यदि नीति निर्माताहरुले ध्यान केन्द्रित गर्ने हो भने श्रम बजारमा देखिएको समस्या र बढ्दो बेरोजगारीपूर्ण स्थितिको सहज अन्त्य हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस