
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा तेस्रो दिन आइतवार साझ ५ बजेसम्म ८ लाख ८३ हजार ७५ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट १ करोड ३९ लाख ८० हजार ५२० कित्ता शेयर खरिदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । तेस्रो दिनसम्म मागभन्दा ५ दशमलव १८ गुणा बढी हुन आउँछ ।
कम्पनीले आम सर्वसाधारणका लागि चैत ६ गते शुक्रवारदेखि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।
यो आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहमागी सम्पूर्ण बैंक तथा वित्तीयसस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।
यस कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू. २२ करोड हुने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ ।
प्रतिक्रिया दिनुहोस