aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज दुई कम्पनीको साधारण सभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ चैत्र २०७७
आज दुई कम्पनीको साधारण सभा हुँदै

काठमाडौं । सिन्धु विकास बैंक र शिखर इन्स्योरेन्स कम्पनीले आज (सोमबार) वार्षिक साधारण सभा गर्दैछन् । सिन्धु विकास बैंकको ११औं वार्षिक साधारण सभा र शिखर इन्स्योरेन्सले १५ औं वार्षिक साधारण सभा आयोजना गर्न लागेका हुन् । 

सिन्धु विकास बैंकले आगन्तुक रिसोर्ट, बनेपा, काभ्रेमा विहान १०ः३० बजे र शिखर इन्स्योरेन्सले कम्पनीको केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली काठमाडौंमा विहान ११ बजे सभा  बोलाएको छ । सिन्धु विकास बैंकले भने कोभिडको असरलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ ।

सिन्धु विकास बैंकले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । सभाले आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित र चालू आवको लागि लेखापरिक्षकको नियुक्त लगाएतका विषय पारित गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृया गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन २८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । गत वर्ष ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६० प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ । 

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भने सभा मार्फत प्रस्तावित कुल २९ दशमलव २३ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले ३० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजारको आधारमा २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्न लागेको हो । 

गत असार मसान्तसम्म कायम चुक्तापूँजीको आधारमा भने कुल ३८ प्रतिशत लाभांश हुन आउने कम्पनीले प्रष्ट पारेको छ । असार मसान्तसम्म कायम चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजारको आधारमा ३६ दशमलव १ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ९ प्रतिशत नगद लाभांश हुन आउने कम्पनीको भनाई छ । कम्पनीको पुस २० गतेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको थियो ।

लाभांशसँगै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । कम्पनीको अधिकृत चुक्तापूँजी रू. ४ अर्ब पु¥याउने प्रस्ताव गरेको कम्पनीले संस्थापक समूहको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशतमा झार्ने प्रस्ताव पनि गरेको छ । 

कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत स्वामित्वलाई ५१ प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्वलाई ४९ प्रतिशत कायम गर्न लागेको हो । यसका लागि संस्थापकतर्फको ९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गर्ने योजना कम्पनीको रहेको छ । साथै प्रस्तावित २७ दशमलव ७७ प्रतिशत बोनस शेयर पछि कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

प्रतिक्रिया दिनुहोस