
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा आईपीओ बाँडफाँट हुने भएको हो । बाँडफाँटको मिति निश्चित भैसकेको भए पनि समय भने निर्धारण भैनसकेको क्यापिटलले जानकारी दिएको छ ।
यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिन साझ ५ बजेसम्म १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यी आवेदकहरुबाट ३ करोड ८९ लाख ९६ हजार ५५० कित्ता शेयर माग भएको हो । मागभन्दा ६ दशमलव ५६ गुणा आवेदन परेको यस कम्पनीको आईपीओ १२ लाखभन्दा बढी लगानीकर्ताहरुले नपाउने भएका छन् ।
जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।
कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २८ करोड ६४ लाख १ हजार छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोक्ने हुदाँ यस कम्पनीको पहिलो कारोबारका लागि रू. १३२ दशमलव ९४ देखि रू. ३९८ दशमलव ८२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस