
काठमाडौं । बीमा कम्पनीहरूले धमाधम गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्न थालेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका १८ कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट ९ वटा निर्जीवन बीमा कम्पनीले लाभांश दिने घोषणा गरेका हुन् ।
गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेका बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले साधारणसभानै सम्पन्न गरिसकेको छ भने र प्रिमियर इन्स्योरेन्सले यहि चैत ११ गते शेयर दाखिल खारेजी (बुकक्लोज) गरिसकेका छन् । प्रिमियरले चैत २३ गते सोमबार साधारणसभा आह्वान गरेको छ । नेपाल इन्स्योरेन्सले यहि १७ गते बुकक्लोज गरेर चैत २७ गते साधारणसभा गर्ने मितितय गरेको छ ।
हालसम्म लाभांश घोषणा गरेका ९ वटा निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले दिने भएको छ । कम्पनीले २९.२३ प्रतिशत लाभांश पारित गरेको हो । उक्त इन्स्योरेन्स कम्पनीले २७.७७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
हिमालयन जनरलले सबैभन्दा कम ६.७५ प्रतिशत (३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद) वितरण गर्ने प्रस्ताव गरेको छ ।
सिद्धार्थ इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १२ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद लाभांश दिन लागेको हो । गत आवको कमाइबाट प्रिमियर इन्स्योरेन्सले ११.०५ प्रतिशतनै नगद लाभांश दिने भएको छ । हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये प्रिमियमले मात्रै नगद लाभांश दिन लागेको हो ।
प्रभु इन्स्योरेन्सले १०.५३ प्रतिशत ( १० प्रतिशत बोनस र ०.५३ प्रतिशत) लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस र २ प्रतिशत नगदसहित जम्मा १० प्रतिशत लाभांश दिने भएको छ ।
त्यसरी नै प्रूडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद सहित जम्मा ८.८२ प्रतिशत लाभांश घोषणा गरेको छ । एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा ८ प्रतिशत बोसन र ०.४२ प्रतिशत नगद लाभांश रहेको छ ।
आइएमई जनरल इन्स्योरेन्सले ७.७३ प्रतिशत लाभांश घोषणा गरेको छ । उसले पनि कर प्रयोजनको लागिमात्रै ०.३७ प्रतिशतमात्रै नगद लाभांश दिने घोषणा गरेको हो । यद्यपि साधारणसभा नभएका कम्पनीहरूका हकमा उक्त लाभांश साधारणसभाले पारित गर्नुपर्नेछ ।
गत आर्थिक वर्ष २०७६÷७७ को कमाइबाट लाभांश घोषणा गर्न बाँकी रहेका निर्जीवन बीमा कम्पनीहरूमध्ये सगरमाथा इन्स्योरेन्स, जनरल इन्स्योरेन्स नेको इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् ।
अजोड, सानिमा र जनरल इन्स्योरेन्स नयाँ कम्पनी भएकाले यी कम्पनीले गत आवको नाफाबाट लाभांश वितरण गर्नसक्ने सम्भावना कम देखिएको छ ।
प्रतिक्रिया दिनुहोस