काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले (टेलिकम) शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु पारित गरेको कम्पनीले जनाएको छ ।
टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्राहकको अपेक्षाअनुरुप गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइएको बताउनुभएको थियो । उहाँले कम्पनीलाई सबल र अग्रणी संस्थाको रुपमा विकास गरिएको जनाउँदै बन्दाबन्दीको अवधिमा ग्राहकलाई विभिन्न सेवाहरु उपलब्ध गराइएको जानकारी दिए।
टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट रु १० करोड र कर्मचारीको तर्फबाट दुई करोड रुपैयाँ गरी १२ करोड रुपैयाँ योगदान गरेको थियो ।
यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैह्रकरबापत सरकारी राजश्वमा ३५ अर्ब पाँच करोड रुपैयाँ बुझाएको थियो । टेलिकमलाई गत आर्थिक वर्ष २०७६/७७ मा ४२ अर्ब ९९ करोड रुपैयाँ राजश्व र नौ अर्ब ७५ करोड रुपैयाँ नाफा भएको बताइएको छ ।
साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७६।७७ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६।७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा अम्बिका प्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित भएका छन् ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको तेह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
अध्यक्ष बस्यालले भने, “दूरसञ्चार सेवालाई आर्थिक विकासको संवाहकको रूपमा स्वीकार गरिएको सन्दर्भमा कम्पनीले कर राजस्व संकलन, डिजिटल डिभाइड न्यूनीकरण, डिजिटल साक्षरता विस्तार, विद्युतीय सरकारको अवधारणा साकार पार्न लाग्नुको साथै ज्ञानमा आधारित समाज निर्माणको माध्यमबाट राष्ट्र निर्माणमा अतुलनीय योगदान पु¥याउँदै आएको छ । मूलतः कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको छ ।”
कम्पनीले तुलनात्मक रुपमा लाभ नहुने विकट क्षेत्रमा समेत स्याटेलाइट र अन्य प्रविधिको माध्यमबाट सेवा उपलब्ध गराइरहेको बताउँदै उनले कम्पनीले विश्वबजारमा उपलब्ध अत्याधुनिक दूरसञ्चार प्रविधि भित्र्याउनुका साथै मुलुकमा विद्यमान मुद्रास्फितिका बाबजुद आकर्षक महशुल दरमा सेवा उपलब्ध गराउँदै आएको बताए ।
कम्पनीले आधारभूत टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए प्रविधिमार्फत भ्वाइस सेवा र एडीएसएल, लिज्ड लाइन, टुजी, थ्रीजी, फोरजी/एलटीई, वाइम्याक्स, एफटीटीएच प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । आ.व. २०७६/७७ को अन्तसम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब २ करोड पुगेको उनले बताए ।
त्यस्तै इन्टरनेट सेवाको ग्राहक आधार ९.९३ प्रतिशतले वृद्धि भई करिब १ करोड ५० लाख पुगेको छ । जीएसएम सेवा कम्पनीको राजस्वको प्रमुख मेरुदण्डीय आधारको रूपमा स्थापित भइसकेको छ भने कम्पनीको भविष्य इन्टरनेट सेवामा रहेको स्वीकार गर्दै चौथो पुस्ताको फोरजी÷एलटीई सेवा विस्तारमा स्रोत/साधन परिचालन गर्दै आएको छ ।
अनेकौं चुनौती एवं जोखिमका बाबजुद आ.व. २०७६/७७ मा कुल राजस्व र खुद नाफा क्रमशः रू. ४२ अर्ब ९९ करोड र रू. ९ अर्ब ७५ करोड कायम गर्न कम्पनी सफल भएको बताउँदै उहाँले सेवाको गुणस्तर स्त्तरोन्नती, ग्राहकवर्गको अपेक्षा सम्बोधन तथा प्रतिस्पर्धी मूल्यमा सेवा प्रवाह गर्न सदैव तत्पर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस