
काठमाडौं, १० असार । सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै बन्द गर्ने धम्की दिएका छन् ।
नेपालका केवल टिभी सेवा प्रदायकहरुले सामूहिक रुपमा यस्तो अभिव्यक्ति दिएका हुन । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न लागेको आरोप लगाए ।
उनले भने,‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो । राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशीय बनाउनु हो ।’
उनले सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी समेत गरे । उनले विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आफुहरुलाई कुनै आपत्ति नहुने पनि जिकिर गरे । ‘क्लिन–फिड’ लागु भए नेपालका लोकल मिडिया पनि बन्द हुने अवस्था आउनसक्ने उनले खतरा औंल्याए ।
उक्त विद्येयकका बारेमा छलफल गर्नको लागि विभागी मन्त्रीसँग भेट्न खोज्दा भेट नै नदिईएको पनि उनले गुनासो पोखे । सुवेदीले थपे,‘मन्त्रीसँग दोहोरो कुरा गर्ने मन छ ।’
सरकारले जतिसक्दो चाँडो आफूहरुसँग वार्ता तथा सम्वाद गर्नुपर्ने उनको भनाई छ । ‘सरकारले के गर्न चाहेको हो भन्ने कुरा नै क्लियर छैन’–उनले प्रश्न गरे ।
डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको बताएका छन् । क्लिन फिड लागु भए नेपाली च्यानलमात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ । उनले भने,‘यदि यो विद्येयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’
उनले समस्या समाधानको लागि सम्वाद गर्नुपर्ने सरकारसामू आग्रह गरे । आचार्यले आफूहरु क्लिन फिडको विरोधी नभएको जिकिर गरे । उनले भने,‘यसरी हुँदैन्, बरु सोलुशन खोजौं ।’ व्यापार गर्न नसके आफूहरुले बन्द गर्ने पनि उनले चेतावनी दिए ।
नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताएका छन् । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो भन्दै प्रश्न समेत गरे ।
उनले भने,‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अर्वौको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ ।’ उनले क्लिनफिड लागू हुँदा सेवा दिन सकिन्छ या सकिँदैन भनेर परीक्षणस्वरूप आफूहरुले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको पनि स्पष्ट पारे ।
उनले आफूहरुको बन्द कसैको विरोधमा नभएको पनि जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस