
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले चैत १३ गते पारित गरेको ४० प्रतिशत नगद लाभांश चैत १६ गते सोमवारदेखि वितरण गर्ने भएको छ । शनिवार र आइतवार सार्वजनिक विदा परेकाले कम्पनीले सोमवारदेखि सम्बन्धित शेयरधनीहरुको बैंक खातामै उक्त नगद लाभांश जम्मा गर्न लागेको हो । कम्पनीको लाभांश वितरण एनएमबि क्यापिटल मार्फत हुने भएको छ ।
साधारण सभा प्रयोजनका लागि नेपाल दुरसञ्चार कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
फागुन २६ गतेसम्ममा आफ्नो शेयर धितोमा राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर एनएमबि क्यापिटलमा पेश गर्नुपर्नेछ । साथै उक्त अवधिपछि कर्जा चुक्ता गरेका शेयरधनीहरुले नगद लाभांश फुकुवा गरिनिे पत्र क्यापिटलमा पेश गर्नुपर्ने कम्पनीको भनाई छ ।
नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामार्फत वितरण गर्ने हुदाँ बैंक खाता अद्यावधिक गर्न बाँकी सदस्यहरुलाई यथासिघ्र गर्न पनि अनुरोध गरेको छ । साथै हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएको शेयरधनीहरुलाई जतिसक्दो छिटो गराई आफ्नो लाभांश सुरक्षित गर्न पनि कम्पनीले अनुरोध गरेको छ । गत वर्ष ४५ प्रतिशत नगद लाभांश वितरण गरेको यस कम्पनीले यस वर्ष ५ प्रतिशत कम लाभांश वितरण गर्न लागेको हो ।
धितोपत्र दोस्रो बजारमा सर्वाधिक पूँजीकरण भएको यस कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ४ अर्ब ९३ करोड ९१ लाख ५० हजार रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३३ दशमलव ४० प्रतिशत कम भएको हो ।
यस वर्ष कम्पनीले रू. २० अर्ब ५७ करोड ५९ लाख २५ हजार कुल आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष रू. २१ अर्ब ९२ करोड ६८ लाख ४२ हजार रहेको थियो । आम्दानी कम भएसँगै कम्पनीको खुद नाफा घटेको हो । यस कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ । धितोपत्र दोस्रो बजारमा बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ४१० कायम भएको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ८० अर्ब ३७ करोड ५४ हजार रहेको छ । गत वर्षको भन्दा कम्पनीको जगेडा कोष रकम ४ दशमलव ५९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ७६ अर्ब ८४ करोड २१ लाख ८६ हजार थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. ४३ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. ६३५ दशमलव ८० रहेको छ ।
प्रतिक्रिया दिनुहोस