
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले वैशाख ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । यस आर्थिक वर्षको सुरुवातमै गत साउन ४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै सभा बोलाएको हो । वल्ड ट्रेड सेन्टरको अमन हल, त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको छ ।
यस वर्ष लाभांश भने प्रस्ताव गरिएको छैन् । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणका विषयलाई अन्तिम रुप दिनेछ । साथै , सर्वसाधरण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ ।
हकप्रद शेयर निष्कासन पश्चात चुक्तापूँजी बृद्धि हुने भएकाले सो बमोजिम जारी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाका लागि सञ्चाल समिति, अन्य समिति तथा उप–समितिहरुको बैठक भत्ता तथा अन्य सुविधाका विषय पनि छलफलका लागि तय गरिएको छ । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
यस कम्पनीले सर्वसाधारणमा रू. ३० करोड बराबरको शेयर जारी गरी चुक्तापूँजी रू. १ अर्ब कायम गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ६३ लाख र बीमा कोष रकम रू. ८ करोड २७ लाख छ । कम्पनीले यो अवधिसम्म रू. ४ करोड ६ लाख खुद नाफा गरेको छ ।
प्रतिक्रिया दिनुहोस