aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ चैत्र २०७७
दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आरम्भ चौतारी र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने चैत १७ गते मंगलवार दुइअन्तिम दिन रहेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नती सहकार्य लघुवित्तको प्रस्तावित लाभांश मंगलवार सम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका हुन । यी दुबै कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । आरम्भ चौतारी लघुवित्तले चैत १० गते पाँचौ वार्षिक साधारण सभा बोलाएको हो भने उन्नती सहकार्य लघुवित्तले चैत ३१ गते छैठौं वार्षिक साधारण सभा बोलाएको हो ।

 उक्त सभा प्रयोजनका लागि आरम्भ चौतारी लघुवित्तले चैत १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ भने उन्नती सहकार्य लघुवित्तले भने चैत १८ गते एक दिनमात्र बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा यी दुबै कम्पनीका चैत १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

आरम्भ चौतारी लघुवित्तले यस वर्ष ८ दशमलव ८५ प्रतिशत बोनस शेयर र उन्नती सहकार्य लघुवित्तले १७ दशमलव ८१ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो । आरम्भ चौतारी लघुवित्तले गत असार मसान्तसम्म कायम चुक्तापूँजी रू. २ करोड ३३ लाख १५ हजारको आधारमा बोनस शेयर वितरण गर्न लागेको हो ।  यस कम्पनीले बिपिडब्लु लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धी सहमति पत्रलाई पनि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । 

यी कम्पनीहरुलाई प्राप्ती गर्न गरिएको शेयर आदानप्रदान अनुपातलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ । दुबै कम्पनीलाई १००ः९५ः९५ को अनुपातमा आरम्भ चौतारीले प्राप्ती गर्न लागेको हो । हाल कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ६३ दशमलव ६५ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव ३५ प्रतिशत रहेकाले दुबै कम्पनीलाई प्राप्ती पश्चात संस्थापकतर्फ ६८ दशमलव ३० प्रतिशत र सर्वसाधारण तर्फ ३१ दशमलव ७० प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाको लागि तय भएको छ । 

यी दुई कम्पनीलाई प्राप्ती गर्ने प्रकृयाका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै, सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ ।

उन्नती सहकार्य लघुवित्तले भने बोनस शेयरसँगै एफपीओ जारी गर्ने प्रस्ताव पनि यो वर्ष गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १४ करोड ९५ लाख ३६ हजारको आधारमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त बोनस पश्चात कायम शेयर स्वामित्वमा सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न रू. १ करोड ३७ लाख २८ हजार बराबरको एफपीओ जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै सभाले संस्थापक शेयरधनीहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनलाई अनुमोदन पनि गर्नेछ । भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रयोजनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । 

प्रतिक्रिया दिनुहोस