
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ आगामी साताको शुक्रवार मात्र बाँडफाँट हुने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर बादे श्रेष्ठले आगामी बुधवारसम्म प्रि अलोटमेण्ट सकाएर शुक्रवार सम्म बाँडफाँट गर्ने तयारी रहेको जानकारी दिएका हुन् ।
कम्पनीले चैत ६ गतेदेखि आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासन गरेको हो ।
यो आईपीओ मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन चैत १० गते साझ ५ बजेसम्म १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।
आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि नेटवर्थ वा नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस