
काठमाडौं । नेपाल इन्स्योेरेन्सले चैत २७ गते ७२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौंमा विहान ११ बजेका लागि सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित कुल १० प्रतिशत लाभांशलाई पनि अन्तिम रुप दिनेछ ।
यस वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयर प्रयोजनका लागि कर समेत २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ३ लाख १३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । ८ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार पुग्ने भएकाले सोही बमोजिम हुने गरी जारी तथा चुक्तापूँजी सम्बन्धी व्यवस्था संशोधन समेत सभाले गर्नेछ ।
कम्पनीले संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक पदमा विशाल मिनरल्स एण्ड फाइन्स प्रा.लि का प्रतिनिधि बिष्णु खेतान अग्रवाललाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेकाले सो समेत सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस