
काठमाडौं । चैत २० गते शुक्रवार दुई लघुवित्त कम्पनी सहित तीन कम्पनीहरुले वार्षिक साधारण सभा गर्दैछन् । डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त र युनाईटेड ईदि मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएका हुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले होटल मोनालिसा सौराहा, चितवनमा विहान ११ बजे सभा बोलाईएको हो ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १५ प्र्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५४ लाख ३३ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि चैत १० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य भएका छन् ।
त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विहान ९ बजे होटल इस्टर्न प्यालेस प्रा.लि. इटहरीमा सभा बोलाईएको हो । यस वर्ष कम्पनीले सभाका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत सभाले गर्नेछ ।
साथै, अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।
युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडले भने होटल साँग्रिला भिलेज, पोखरामा विहान ११ बजे सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चातको पहिलो वार्षिक साधारण सभा गर्न लागेको हो ।
यस कम्पनीले सर्वसाधारणमा गत मंसिरमा आईपीओ जारी गरेको थियो । त्यस अघि असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरेको थियो । यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस