
काठमाडौं । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रू रू जलविद्युत परियोजनाले आज शुक्रबारदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनिले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको हो । अब सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गरेको हो ।
कुल कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको छ । यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ ।
माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाई छ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ । स्थानिय सहित सर्वसाधारणमा रू। ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको हो ।
यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले ५ करोड १२ लाख ४८ हजार रुपैयाँ बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ ।
जुन गत आवको तुलनामा ४ लाख ६६ हजार रुपैयाँ बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म ६ करोड १४ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ ११८ दशमलव ८४ रुपैयाँ रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था अनुसार कम्पनीले ११८ दशमलव ८४ रुपैयाँदेखि ३५६ दशमलव ५२ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस