
काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागेको हो । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो । यो हकप्रद शेयर खरिदका लागि बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासन गर्न लागेको यो हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबर बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्दछ । यस हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद प्रयोजनका लागि कम्पनीले चैत ९ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिनका लागि योग्य भएका छन् ।
कम्पनीले हकप्रद शेयर विक्री गर्न फागुन २५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । शतप्रतिशत हकप्रद शेयर विक्रीको लागि अनुमति मागेको कम्पनीलाई बोर्डले पहिलो चरणमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । कम्पनीले गत असोज २१ गते हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस