
काठमाडौं ।रू रू जलविद्युत परियोजनाको आईपीओमा पहिलो दिनमै मागभन्दा ११ दशमलव ९८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साझ ५ :३० बजेसम्ममा २ लाख ९३ हजार ९७६ जना आवेदकबाट रू. ५४ करोड ५१ लाख ७ हजार २०० बराबरको ४५ लाख ४२ हजार ५६० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।
कम्पनीले चैत २० गते शुक्रबार देखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रू रू जलविद्युत परियोजनाले आज शुक्रबारदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनिले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं। ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको हो । अब सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गरेको हो ।
कुल कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको छ । यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ ।
माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाई छ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ । स्थानिय सहित सर्वसाधारणमा रू। ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको हो ।
यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले ५ करोड १२ लाख ४८ हजार रुपैयाँ बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ ।
जुन गत आवको तुलनामा ४ लाख ६६ हजार रुपैयाँ बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म ६ करोड १४ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ ११८ दशमलव ८४ रुपैयाँ रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था अनुसार कम्पनीले ११८ दशमलव ८४ रुपैयाँदेखि ३५६ दशमलव ५२ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस