
काठमाडौं । चैत २० गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रू रू जलविद्युत परियोजनाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । विक्री खुला भएको चौथो दिन सोमवार साझ ५ बजेसम्म मागभन्दा ४९ दशमलव ४९ गुणा अर्थात करिब ५० गुणा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि चैत २४ गतेसम्म मात्र आईपीओ विक्री खुला गर्न लागेको हो ।
छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा वैशाख ३ गतेसम्म आईपीओ विक्री गर्ने मिति कम्पनीले तय गरेको थियो । सिडिएस एण्ड क्यिरिङ्ग लिमिटेडको अनुसार सोमवार साझसम्म यस आईपीओमा १३ लाख ८ हजार ९८५ जनाले १ करोड ८७ लाख ६५ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आईपीओ विक्री गरेको हो ।
कम्पनीले अंकित मूल्य रू. १०० मा रू. २० प्रिमियम थप गरी प्रतिकित्ता रू. १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
हाल रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले रू. ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ । जुन गत आवको तुलनामा रू. ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म रू. ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था अनुसार कम्पनीले रू. ११८ दशमलव ८४ देखि रू. ३५६ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस