aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रु रु को आईपीओमा साढे १६ लाखको आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
रु रु को आईपीओमा साढे १६ लाखको आवेदन

काठमाडौँ । चैत २० गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रु रु जलविद्युत परियोजनाको आईपीओमा निवेदन दिनेको सङ्ख्या १६ लाख ६९ हजार ५६६ जना पुगेका छन्। आइपिओ भर्ने अन्तिम दिन मङ्गलवार सम्ममा यो सङ्ख्या पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

आवेदन दिने आज अन्तिम दिन थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६  कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरूलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । तर, कुल दुई करोड ३३ लाख ७७ हजार २२० कित्ता आवेदन परिसकेको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा न्यूनतम अङ्कित मूल्य रु. १०० मै आइपिओ जारी गरेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आइपिओ विक्री गरेको हो । 

कम्पनीले अङ्कित मूल्य रु. १०० मा रु. २० प्रिमियम थप गरी प्रतिकित्ता रु. १२० मा सर्वसाधारणलाई आइपिओ विक्री गर्न लागेको हो । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको सङ्केत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ । आइपिओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । 

हाल रु. ३२ करोड ६१ लाख ६४ हजार ४०० चुक्तापूँजी रहेको कम्पनीको आइपिओ पश्चात् चुक्तापूँजी रु.४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रु रु जलविद्युत परियोजना निर्माण गरी २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत् उत्पादन भइरहेको कम्पनीको भनाई छ ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले रु. ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत् उत्पादन गरी विद्युत् प्राधिकरणलाई विक्री गरेको छ ।  जुन गत आवको तुलनामा रु. ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म रु. ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ रु. ११८ दशमलव ८४ रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था अनुसार कम्पनीले रु. ११८ दशमलव ८४ देखि रु. ३५६ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस