aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शुक्रबार तीन कम्पनीले साधारण सभा हुँदै, कसले के पारित गर्दैछन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
शुक्रबार तीन कम्पनीले साधारण सभा हुँदै, कसले के पारित गर्दैछन्

काठमाडौं । चैत २७ गते बिहीवार तीन कम्पनीले वार्षिक साधारण सभा गर्दैछन् । नेपाल इन्स्योरेन्स , याक एण्ड यती होटल र नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा बोलाएका हुन । नेपाल इन्स्योेरेन्सले एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौंमा विहान ११ बजेका लागि सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित कुल १० प्रतिशत लाभांशलाई पनि अन्तिम रुप दिनेछ । यस वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयर प्रयोजनका लागि कर समेत २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ३ लाख १३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । ८ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार पुग्ने भएकाले सोही बमोजिम हुने गरी जारी तथा चुक्तापूँजी सम्बन्धी व्यवस्था संशोधन समेत सभाले गर्नेछ । 

कम्पनीले संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक पदमा विशाल मिनरल्स एण्ड फाइन्स प्रा.लि का प्रतिनिधि बिष्णु खेतान अग्रवाललाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेकाले सो समेत सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् ।

उता, याक एण्ड यती होटल लिमिटेडले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा गर्दैछ । होटलले आर्थिक वर्ष ०७५÷७६ र ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारितका लागि ४३औं र ४४ औं बार्षिक साधारण सभा बोलाएको हो । सभाले वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । 

साथै संचालक अरुण कुमार सराफको पदावधि समाप्त भई रिक्त रहेको सञ्चालक पदमा एक सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । उक्त पदमा पुन सराफलेनै उम्मेदवारी दिन सक्ने समेत होटलको भनाई छ । साधारण सभा प्रयोजनका लागि होटलले चैत २ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । यस आधारमा चैत १ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, लालदरबार, दरबारमार्ग, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ । 

त्यस्तै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण पारित गर्दै चालू आवको लागि लेखा परिक्षक नियुक्ति गर्ने प्रस्ताव सभाका लागि तय भएको छ ।

 साथै, लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋण कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा कम्पनीको सञ्चालक समितिले फागुन २ गते गरेको निर्णयलाई अनुमोदन सभाले गर्नेछ । यो कम्पनी अन्य कुनै जलविद्युत कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा आवश्यक प्रकृयाका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी समेत दिने कार्यक्रम रहेको छ । साधारण सभा प्रयोजनका लागि चैत ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस