
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ शुक्रवार विहान ११ बजे बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँटको तयारी भएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बडे श्रेष्ठले जानकारी दिएका हुन ।
कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कास मार्फत विक्री गरेको थियो । मेरो शेयरमा समस्या आउँदा कम्पनीको आईपीओ बाँडफाँटमा ढिलाई भएको समेत क्यापिटलको भनाई छ । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य कम्पनीले ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरेको छ ।
यो आईपीओ मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन चैत १० गते साझ ५ बजेसम्म १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।
आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।
यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू. २२ करोड हुने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि नेटवर्थ वा नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि रू. १०० देखि रू. ३०० सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस