aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट, १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ चैत्र २०७७
सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट, १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भएको बाँडफाँटमा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने १५ लाख ६५ हजार ५३० जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो । यी आवेदकहरुबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । योग्य आवेदकमध्यबाट १२ लाख ९५ हजार ८३० जनाको हात खाली भएको छ ।

कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कास मार्फत विक्री गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको शेयर कम्पनीले बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य कम्पनीले ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरेको छ । मेरो शेयरमा समस्या आउँदा कम्पनीको आईपीओ बाँडफाँटमा ढिलाई भएको समेत क्यापिटलले जानकारी दिएको छ । 

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । 

उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू. २२ करोड हुने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि नेटवर्थ वा नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि रू. १०० देखि रू. ३०० सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस