aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शनिवार तीन कम्पनीको साधारण सभा हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ चैत्र २०७७
शनिवार तीन कम्पनीको साधारण सभा हुदैं

काठमाडौं । चैत २८ गते शनिवार तीन कम्पनीको वार्षिक साधारण सभा गर्दैछन् । सप्तकोशी डेभलपमेण्ट बैंक , ग्रीन डेभलपमेण्ट बैंक र जानकी फाइनान्सले वार्षिक साधारण सभा बोलाएको हो । सप्तकोशी डेभलपमेण्ट बैंकले जीवन विकास समाज, कटहरी, मोरङमा विहान १०ः३० बजे सभा बोलाईएको हो । 

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ भने चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साथै, सर्वसाधारण समूहबाट १ जना महिला सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । 

अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत १२ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।

त्यस्तै जानकी फाइनान्स कम्पनी लिमिटेडले गायत्री कुञ्ज, जानकी चोक, जनकपुरधाममा विहान १० बजे कम्पनीले सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन् । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यस सम्बन्धि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभाका लागि कम्पनीले चैत १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।  ग्रीन डेभलपमेण्ट बैंकले भने होटल बराही, पोरखा , कास्कीमा विहान ११ बजे सभा बोलाएको हो । कम्पनीले यस वर्ष ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस अघि ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश परिमार्जन गरेको हो । 

कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम वापतको रकमबाट ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

परिमार्जन गरिएको लाभांश अनुसार अब कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांशसँगै शेयर प्रिमियम वापतको रकमबाट १ प्रतिशत बोनस शेयर वितरण गर्नेछ । 

कम्पनीले कुल ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी ४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि भने कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस