
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड १९ लाख २१ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको यस वर्षको लाभांश हालसम्मकै कम रहेको छ । विगतका वर्षहरुमा ५२ दशमलव ६४ प्रतिशतसम्म लाभांश दिएको कम्पनीले यस वर्ष कम लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष ०६९÷७० को सञ्चित मुनाफाबाट कम्पनीले हालसम्मकै सर्वाधिक ५० प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ६४ प्रतिशत लाभांश दिएको थियो । अघिल्ला पाँच आर्थिक वर्षको लाभांश वितरणको इतिहासलाई हेर्दा पनि कम्नपीले ३१ दशमलव ७ प्रतिशत सम्म लाभांश दिएको थियो । गत वर्ष पनि कम्पनीले कुल १८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
१७ दशमलव १ प्रतिशत बोनस शेयर सँगै कर प्रयोजनका लागि शून्य दशमलव ९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ९ करोड ९३ लाख ३५ हजार खुद नाफा गरेको कम्पनीको जगेडा कोष रकम उक्त अवधिसम्म रू. २३ करोड ९५ लाख ९६ हजार रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २४ दशमलव ४९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ७८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस