
रू रू जलविद्युत परियोजनाको आईपीओ शुक्रवार विहान ८ बजे बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान ८ बजे आईपीओ बाँडफाँट हुने भएको हो । यस कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । यो आईपीओमा १६ लाख ६९ हजार १९ जनाबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । जुन मागभन्दा ६१ दशमलव ६८ गुणा बढी हो ।
कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा भने कम्पनीले न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको थियो ।
हाल रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले रू. ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ ।
जुन गत आवको तुलनामा रू. ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म रू. ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था अनुसार कम्पनीले रू. ११८ दशमलव ८४ देखि रू. ३५६ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस