aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रू रू जलविद्युत परियोजनाको पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
रू रू जलविद्युत परियोजनाको पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?

काठमाडौं । रू रू जलविद्युत परियोजनाको पहिलो शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज नेप्सेले  रू. ११८ दशमलव ८४ देखि रू. ३५६ दशमलव ५२ सम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था रहेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ रहेको छ । सोही प्रतिशेयर नेटवर्थलाई आधार मानेर नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि मूल्य तय गर्नेछ ।

यस कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी बैशाख ३ गते बाँडफाँट गरेको हो ।  यो आईपीओमा १६ लाख ८३ हजार १२१ जनाबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो । जसमध्य ८ हजार ५३५ जनाको आवेदन रितपूर्वक नभएकाले रद्ध गरिएको थियो । १५ लाख ९० हजार ८९६ जना योग्य आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा ३७ हजार ९१६ जनाले १० कित्ताका दरले शेयर पाएका हुन । 

कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा भने कम्पनीले न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको थियो । हाल रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुगेको छ । कम्पनीमा संस्थापकको ८० प्रतिशत , आयोजना प्रभावितको १० प्रतिशत र आम सर्वसाधारणको १० प्रतिशत शेयर स्वामित्व रहेको छ । 

यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले रू. ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ । जुन गत आवको तुलनामा रू. ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस