काठमाडौं । मार्जिन कारोबार सुविधा प्रदान गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आठ ब्रोकर कम्पनीहरुलाई बिहीवार अनुमति दिएको छ । नेप्सेले नेपाल राष्ट्र बैंकबाट पहिलो चरणमा सैद्धान्तिक सहमति दिईसकेका कम्पनीहरुलाई अनुमति दिएको हो ।
अनुमति पाउनेमा क्रिष्टल कञ्चनजंघाँ सेक्यूरिटिज (ब्रोकर नम्बर ५०), भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४), सेक्युर्ड सेक्यूरिटिज (ब्रोकर नम्बर ३६), श्री कृष्ण सेक्यूरिटिज (ब्रोकर नम्बर २८), प्राईमो सेक्यूरिटिज (ब्रोकर नम्बर १६), नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४), कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिज (ब्रोकर नम्बर ३५) र दिपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नम्बर ३८) रहेका छन् ।
ब्रोकरहरुले लामो समयदेखिको माग पुरा भएको भन्दै सकेसम्म यसै आर्थिक वर्षभित्र यसलाई कार्यान्वयनमा लैजाने प्रतिक्रिया दिएका छन् । कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रबन्ध निर्देशक तथा ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले लगानीकर्ताहरुका लागि वाणिज्य बैंकको तुलनामा कम व्याजदरमै मार्जिन कर्जा प्रवाह गर्ने बताए ।
बजारमा कारोबार बढेमा सबैभन्दा बढी फाइदा ब्रोकरहरुलाईनै हुने भन्दै उनले मार्जिन कारोबार सुरु भएपश्चात कारोबार बढ्नेमा समेत विश्वास व्यक्त गरे । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बजारमा एक नयाँ औजार थपिएको बताए । आर्थिक अभियान दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस