
काठमाडौं । बैशाख ७ गते मंगलवार अजोड इन्स्योरेन्स लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएका छन् । अजोड इन्स्योरेन्सले वल्ड ट्रेड सेन्टरको अमन हल, त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।
यस वर्ष लाभांश भने प्रस्ताव गरिएको छैन् । ५० प्रतिशत हकप्रदको प्रस्ताव गरेको कम्पनीले बीमा समितिको निर्देशन बमोजिम उक्त प्रस्ताव खारेज गरेको छ । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणका विषयलाई अन्तिम रुप दिनेछ ।
साथै, सर्वसाधरण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । सभाका लागि सञ्चाल समिति, अन्य समिति तथा उप–समितिहरुको बैठक भत्ता तथा अन्य सुविधाका विषय पनि छलफलका लागि तय गरिएको छ ।
उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गतेदेखि सभा हुने दिनसम्म बुक गरेको छ । बुक क्लोजको आधारमा चैत २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले होटल टास्क इन्टरनेशनलको सभाहल, पोखरामा विहान ८ बजे विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । सभाले आर्थिक वर्ष ०७५÷७६ र ०७६÷ ७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित १० प्रतिशत बोनस शेयर पनि पारित गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड २३ लाख ३० हजार रहेको छ । सोही पूँजीको आधारमा बोनस शेयर वितरण गर्न लागेको हो । गत वष १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश दिन लागेको हो ।
सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पारित गर्नेछ । सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचनलाई पनि सभाले अनुमोदन गर्ने कार्यक्रम छ ।
कम्पनीको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकमा रहने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र संस्थाको पूँजी संरचना संस्थापकतर्फ ५४ दशमलव ५२ प्रतिशत र सर्वसाधारणतर्फ ४५ दशमलव ४८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
हाल कम्पनीको पूँजी संरचना संस्थापकतर्फ ६४ दशमलव ५२ प्रतिशत र सर्वसाधारण तर्फ ३५ दशमलव ४८ प्रतिशत रहेको छ । सभाले कम्पनी अन्य कुनै उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रयोजनमा जाने भएमा सो सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि चैत २२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले चैत १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस