
काठमाडौं । कोरोनाको माहामारीसँगै तरकारीको मूल्य महँगिएको छ । सबै तरकारीको मूल्य एक महिना यता महँगिएको हो । लामो समयसम्म टिकाउ नरहने तरकारीको मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मार्कामा परेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष भगवान् उप्रेतीले बताए ।
उनले भने, 'एक महिनाको तरकारी बजार तुलना गर्ने हो तरकारी मूल्य आकासिएको छ । किनकि अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्न नसकेको कारण बजारमा स्वदेशी तरकारी आएको छैन। भारतकै भर परेका छौ,त्यसै कारण मूल्य बढेको हो ।' तर तरकारीको मूल्य होलसेलमा सस्तो नै भएको र खुद्रामा मनपरी मूल्य गरेको उनको ठम्याई रहेको छ ।
राज्यको अनुगमन निकाय फितलो भएको कारण बजारको मूल्यमा व्यापारीले मनपरी गरेको पूर्व अध्यक्ष उप्रेतीले बताए । अहिले तेल,खाद्यवस्तु र तरकारी लगायतको वस्तुहरूमा एकाएक मूल्य बढेको छ । तर अझै पनि राज्य मौन बसेको छ, अनुगमन निकायलाई सक्रिय बनाउन नसकेको कारण उपभोक्ताले मार्का खेपिरहनु परेको उनको भनाई छ ।
एक महिना अघि कालीमाटी फलफूल तथा तरकारी बजार घिउ सिमी (लोकल)को औसत मूल्य ४५ रुपैयाँ प्रति केजी पर्ने वैशाख ८ गते आई पुग्दा औसत मूल्य १३० रुपैयाँ पुगेको छ । एक महिनामा घिउ सिमी (लोकल)को ८५ रुपैयाँ प्रतिकेजी बढेको छ । त्यस्तै गरी घिउ सिमी (राजमा) र घिउ सिमी (हाइब्रिड)को मूल्य पनि एक महिना ५० देखि ५५ को हाराहारीमा मूल्य बढेको छ ।
तरकारी बजारमा सिमीको मात्र भाउ बढेको नभई सबैजसो तरकारीको भाउ बढेको छ । तरकारीको मूल्य थोकमै करिब १८९ प्रतिशतसम्म बढेको छ । फलफूलको मूल्यमा ४१ प्रतिशतसम्मले मूल्य बढेको छ भने खाने तेल, केराउ र कुखुराको मासुको मूल्य पनि आकासिएको छ । त्यस माथि बिचौलिया र खुद्रा व्यावसायीहरुको चलखेलले आम उपभोक्तालाई मार परिरहेको छ ।
समितिको तथ्याकं अनुसार चैत ८ गते देखि वैशाख ८ गतेसम्म हेर्दा न्युनतम तरकारीको मूल्य २० रुपैयाँको हाराहारीमा बढेको छ भने अधिकतम मूल्य हेर्ने हो भने लगभग ९० को हाराहारी बढेको छ । समितिका अनुसार होलसेल मूल्य ४५ रुपैयाँ पर्ने हरियो धनियाँ ८७ रुपैयाँ, ४७ रुपैयाँ पर्ने लोकल काउली बढेर ७५ रुपैयाँ, ५७ पर्ने प्याज हरियो ८७ रुपैयाँ, ६५ रुपैयाँ पर्ने काँक्रो बढेर ९० रुपैयाँ पुगेको छ । यस्तै, तितो करेला,तोरीको साग, परवल, पालुङ्गो साग र अन्य साग र तरकारीको मूल्यमा वृद्धि भएको छ ।
हिउँदे तरकारीको सिजन सकिएको छ । बर्खे तरकारी जुन परिणाम आई पुग्नु पर्ने थियो, त्यो परिणाममा बजारमा नआई पुगेका कारण तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।
अहिले सिमी, लौका, बोडी, घिरौँला, करेला, परवल लगायतका जुन तरकारीहरू हाम्रो स्वदेशी उत्पादन आउन नसकेको कारण मूल्य वृद्धि भएको उनको विचार छ । अहिले भारतको उत्पादन मात्रै बजारमा आइरहेको पनि श्रेष्ठले बताए । लगभग कालीमाटी फलफूल तथा तरकारी बजारले दैनिक सात सय टन तरकारी तथा फलफूल भित्र्याउने गरेको र त्यसमध्ये लगभग ३५ प्रतिशत जति भारतबाट आयात हुने गरेको उनी बताउँछन् । कालीमाटी तरकारी बजारले काठमाडौं उपत्यकाको ७० प्रतिशत माग धान्ने गरेको छ । तरकारीको मूल्य चैतको सुरुवात देखि नै बढ्न थालेको हो । उपत्यकामा मकवानपुर, नुवाकोट, चितवन, धादिङ, काभ्रे, लगायतका जिल्लासँगै भारतबाट पनि तरकारी आयात हुने गरेको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस