aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मध्य भोटेकोशी जलविद्युतले आईपीओ जारी गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
मध्य भोटेकोशी जलविद्युतले आईपीओ जारी गर्दै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियमा कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो । 

कुल कित्ता मध्य सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालीका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाहृविसे नगरपालीका वडा नं. ७ र ८ (साविक घम्याङ्ग गाविस र मानेश्वर गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथी उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशत दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

स्थायिय वासिन्दाका लागि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म यो शेयर विक्रीमा रहनेछ । शेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

यस कम्पनीले सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गतेनै अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको उक्त शेयर आयोजना प्रभावितमा विक्री गरेपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । 

कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्य कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था ( चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, र सिन्धु भोटेकोशी हाइड्रोपावर) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । 

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो । उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो । 

जारी पूँजी रू. ६ अर्ब रहेको यस कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो । अब कम्पनीले आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्नेछ । 

कर्मचारीमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस