
काठमाडौं । नेपाल भित्रिएका विदेशी जुत्ताको निर्माण देश अर्कै देखाएको आरोपमा राजस्व अनुसन्धान विभागले तीन जना विरुद्ध मुद्दा चलाएको छ । मेची भन्सार कार्यालयबाट जाँचपास गराई पैठारी गरेका जुत्ता उत्पत्तिको मुलुक इन्डोनेशिया, भियतनाम हुनुपर्नेमा चीन मात्र उल्लेख गरेको तथा ख्यातिप्राप्त ब्रान्ड अन्य माल वस्तुसमेत राजश्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवं मालवस्तुको उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार देखाइ कर छलेको आरोप विभागले लगाएको छ ।
विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध चार करोड ६४ लाख ४३ हजार रुपैयाँ जरिवाना तथा तीन वर्ष कैद माग दाबीसहित शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गङ्गाबहादुर घिमिरेले मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, तथा उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार घोषणा गरी कर छली गरेकाले मुद्दा चलाइएको विभागले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
राजश्व चुहावट गर्ने कार्यमा दीपेन्द्रराज पाण्डेले भन्सार एजेन्टको प्रतिनिधि भई कार्य गरेकाले राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ अनुसार उनी विरुद्धसमेत मुद्दा चलाइएको विभागले जनाएको छ । अनुसन्धानमा मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका मालवस्तुलाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भनि पैठारी गरेर राजश्व चुहावट गरेको पाइएको विभागको ठहर छ ।
विभागले दुई करोड ३२ लाख २१ हजार रुपैयाँ बिगो बराबरको मालवस्तु जफत गरी सोको दोब्बर हुने चार करोड ६४ लाख ४३ हजार रुपैयाँ जरिवाना तथा तीन वर्ष कैद माग दाबी गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस