aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ढुवानी कर वृद्धि नगर्न माग, 'क्यासिनो बन्द गरिनु पर्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
ढुवानी कर वृद्धि नगर्न  माग, 'क्यासिनो बन्द गरिनु पर्छ'

काठमाडौं। सामान आयात गर्दा लाग्ने ढुवानी कर नबढाउन सांसदहरुले माग गरेका छन् । सांसदहरुले ढुवानी कर वृद्धि गरे महङ्गी  बढ्ने भएकाले ढुवानीमा कर वृद्धि नगर्न सांसदहरुले माग गरेका हुन ।  सङ्घीय संसद् प्रतिनिधिसभाको शुक्रबारको  बैठकमा सांसद डा मिनेन्द्र रिजालले आर्थिक विधेयक, २०७६ माथि दुई संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । 

करको संरचनामा परिवर्तन नगरी नीतिगत औजारका रुपमा प्रस्तुत गरिएकाले संशोधन प्रस्ताव प्रस्तुत गर्नुपरेको उनले बताए । सार्वजनिक ढुवानीका साधनमा कर बढाए महङ्गी बढ्ने भएकाले संशोधन प्रस्ताव प्रस्तुत गरिएको डा रिजालले जानकारी दिए । 

 
संशोधन प्रस्ताव प्रस्तुत सांसद प्रेम सुवालले जुवा खेलाएर आम्दानी गरेर सरकारको इज्जत नहुने भएकाले क्यासिनो बन्द गरिनुपर्ने माग गरेका थिए  । सार्वजनिक शैक्षिक गुठीअन्तर्गतको विद्यालयको सम्पत्ति सरकारको भएकाले सवारी खरीद गर्दा राजश्व नलाग्ने व्यवस्था हुनुपर्ने उहाँले बताए । खेलौना आयातमा भन्सार छुट दिनुपर्ने, क्यासिनोमा प्रयोग हुने सामानमा शतप्रतिशत कर लगाइनुपर्ने सांसद सुवालको माग थियो । 

छलफलमा भाग लिनुहुँदै सांसद दिव्यमणि राजभण्डारीले कनिका छरेजस्तो प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट खर्च भइरहेजस्तो व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा नगर्न माग गरेका थिए ।

 सामान ढुवानीमा कर लगाउँदा जनतालाई मार पर्न जाने भएकाले यस्तो व्यवस्था नगर्न माग गरे ।   सांसद प्रदीप गिरीले काठमाडौँ उपत्यकामा रहेका पुस्तक पसलसँग करभार लगाएर पुस्तक पढ्ने संस्कृतिलाई निरुत्साहित नगर्न माग गरेका थिए । 

विलासिताका वस्तुमा कर लगाई आवश्यकताका वस्तुमा कर नलगाइने गरी नीति निर्धारण गरिनुपर्ने सांसद डा डिला सङ्ग्रौलाको भनाइ थियो । सांसद रिजाल र सुवालले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव बैठकमा उपस्थित बहुमत सदस्यद्वारा अस्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस