
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेले मंगलबार हाइड्रोलाई पहिलो कारोबारका लागि एक सयदेखि ३ सय रुपैयाँसम्मको ओपनिङ रेञ्च दिएको हो ।
नेपसेका अनुसार उक्त कम्पनीको एक करोड ४५ लाख कित्ता आईपीओ सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SHEL सिम्बोल पाएको छ । कम्पनीले संस्थापक तर्फको १ करोड १ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २९ लाख कित्ता गरी कुल १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत गराएको हो ।
बुधवारदेखि कम्पनीको शेयर कारोबार सुरु हुनेछ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ देखि त्यसको तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोकेको हो । पहिलो कारोबार दिन प्रि ओपनिङ सेसनमा कारोबारका लागि म्याच भएको मूल्यको आधारमा नियमित सेसनको लागि खुला मूल्य तय हुनेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका वासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म र सर्वसाधारणका लागि गत चैत ६ गतेदेखि १० गतेसम्म शेयर विक्री गरेको थियो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई चैत २७ गते आईपीओ बाँडफाँट गरेको हो ।
स्थानिय र सर्वसाधारणलाई आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी सहित आम सर्वसाधारण तर्फ २० प्रतिशत शेयर स्वामित्व रहेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस