
कोरोनाको दोस्रो लहरले वैशाख १६ गते बिहीबारदेखि फेरि हामीलाई लकडाउनको अवस्थामा पुर्याएको छ । उद्योग व्यापारका सबै क्षेत्र अब के होला भन्ने सन्त्रास र निराशामा छन् । तर, एउटा व्यावसायिक क्षेत्र भने अझै आत्तिएको छैन । चाडै सहजता आउने र पुर्ववत्त: व्यापार चल्नेमा ढुक्क रहेको क्षेत्र हो, अटोमोबाईल्स सेक्टर ।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलाल लकडाउन पछि फेरि पनि व्यापार हुनेमा विश्वस्त देखिन्छन् । उनी भन्छन्, ‘अघिल्लो लकडाउन पछि बजार खुल्नासाथ गाडीको व्यापारमा उल्लेख्य उत्साह देखिएकाले अब पनि फेरि सहज वातावरण भएपछि व्यापार बढ्छ । हामी त्यति धेरै चिन्तित छैनौँ ।’
आसन्न बजेटमा सरकारले अटोमोबाइल्स क्षेत्रको संरक्षणका लागि केही विशेष नीतिहरू घोषणा गर्नु पर्नेमा जोड दिँदै दुलालले नाडाका तर्फबाट प्रधानमन्त्री र अर्थमन्त्रीलाई पाँच बुँदे सुझावहरू पनि दिएको बताए ।
उनका अनुसार नेपालमा एसेम्बलिङ्ग हुने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधारणको हकमा अन्तःशुल्क महसुल ५० प्रतिशत र भन्सार छुटमा पनि ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने सरकार समक्ष नाडाले राखेको छ । नेपालमा १० वटा भन्दा बढी अटो मोबाइलको लुब्रिकेण्टस उद्योगहरू रहेका र तिनीहरूले नेपालको माग धान्न सक्ने हुँदा तेस्रो मुलुकबाट हुने लुब्रिकेण्टसको आयातमा कडाइ गर्नु पर्ने माग समेत नाडाले प्रस्तुत गरेको छ ।
त्यस्तै, विद्युतिय सवारीमा प्रयोग हुने ब्याट्रीहरू नेपालमै उत्पादन गर्ने र त्यसको लागि आवश्यक पर्ने कच्चापदार्थको आयातमा एक प्रतिशत मात्रै भन्सार महसुल लिन पनि नाडाले सरकार समक्ष अनुरोध गरेको छ ।
यसबाट देशमा थप रोजगारी सिर्जना हुने तर्क गर्दै उनीहरूले हाल १५ प्रतिशत भन्सार र १५ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्दै आएका यस्ता वस्तुहरूमा लाग्ने करमा विशेष सहुलियतको माग गरेका हुन् । नाडाले अटो मोबाइलको स्पेयर पार्टमा लाग्दै आएको अन्तःशुल्क हटाउनुपर्ने मागलाई समेत जोडतोडका साथ अगाडी बढाएको छ ।
दुलाल भन्छन्, ‘मैले बालुवाटार नै पुगेर प्रधानमन्त्रीलाई यी सबै कुरा राखेको छु । उहाँले सुनुवाइ हुन्छ ढुक्क हुनुहोस् भन्नुभएको छ । अर्थमन्त्री पनि सकारात्मक देखिनु भएको छ ।’ उनले अगाडी थपे, ‘त्यसैले लकडाउन भए पनि हामीलाई चिन्ता छैन । गाडीको व्यापार निकै राम्ररी हुने वातावरण बन्दै छ ।’
सरकारले चाहेको खण्डमा नेपालभित्रै गाडी उत्पादन गर्न सकिने व्यवसायीहरू बताउँछन् । तर, त्यसको लागि सरकारले नितिगतरुपमै केही लचकता अपनाउन जरुरी रहेको उनीहरूको भनाई छ ।
सरकारी कार्यालयहरूले नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर प्रयोग गर्ने र खरिद गर्ने मात्रै हो भने पनि नेपालमा गाडी उद्योगको प्रचुर सम्भावना रहेको दुलालको भनाई छ । उनी भन्छन्, ‘सरकारले गाडी किनिदिने कुराको ग्यारेन्टी लिनु पर्यो । नत्र हामीले कहाँ बेच्नु ?’
नेपालका गाडीको बजार निकै सम्भावनायुक्त रहेको उनले बताए । ‘जम्मा १ प्रतिशत मानिसले गाडी चढेका छन् अरू ९९ प्रतिशतलाई पनि त चढाउनु छ ।’ उनी भन्छन्, ‘मोटरसाइकल चलाउने पनि ११ प्रतिशत मात्र छन् ।’
लुब्रिकेन्ट उद्योग पिएलओका सञ्चालक समेत रहेका दुलालले यसबिच लुब्रिकेन्ट र पाट्सको व्यापार निकै रामो भएको बताए । सार्वजनिक यातायात र ढुवानीका साधन पर्याप्त मात्रामा चलेको र निजी सवारी साधनको कारोबार समेत राम्रोगरि नै भएको कारण यी क्षेत्रहरूको व्यापार उत्साहप्रद रहेकोमा अहिलेको लकडाउने भने ब्रेक लगाउने उनी बताउँछन् ।
उनले नेपालमा ब्याट्री र टायर उद्योगको सम्भावना प्रचुर रहेको बताए । तर, यस्ता उद्योग स्थापना र उत्पादित वस्तुको खपतमा सरकारले विशेष ध्यान दिनुपर्ने कुरा दुलाल पटक पटक दोहोर्याउन ।
सरकारले अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित वस्तुहरू आयात गर्दा त्यसको गुणस्तर हेरेर मात्रै आयात गर्न दिने हो भने धेरै समस्याहरू स्वतः समाधान भएर जाने गाडी व्यापारीको भनाई छ । विशेषगरि, स्पेयर पाट्समा त्यस्तो समस्या देखा परेको र सरकारले कम्तीमा तीन वटा देशमा निर्यात नगरेको कम्पनीबाट उत्पादित कुनै पनि वस्तु आयात गर्न नदिने हो भने गुणस्तरहिन वस्तु भित्रिने समस्या पनि हट्ने दुलालको विश्वास छ ।
नेपालमा विद्युतीय सवारीहरूको आयात हुँदा प्रारम्भिक चरणमा नै गुणस्तरहीन सवारीहरू भित्रिएका कारण आम जनसाधरणको विद्युतीय साधनप्रति विश्वास नबढेको उनको ठम्याई छ ।
त्यसैगरि, कतिपय नेपाली उत्पादनहरू नै समेत गुणस्तरीय नभएका कारण आम उपभोक्तामा नेपाली उत्पादनप्रति भरोसा निर्माण हुन नसकेको पनि दुलाल स्वीकार गर्छन् ।
प्रतिक्रिया दिनुहोस