
काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ ६०१ जनाले भरेका छन् । कम्पनीले आयोजना प्रभावित स्थानियमा कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले कुल कित्ता मध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।
आयोजना प्रभावित क्षेत्रभित्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गाविस र मार्मिङ गाविस), बाहृविसे नगरपालीका वडा नं. ५ र ६ (साविक गाती गाविस ) तथा बाहृविसे नगरपालीका वडा नं. ७ र ८ (साविक घम्याङ्ग गाविस र मानेश्वर गाविस) का वासिन्दाहरु रहेका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पहिलो दिन आयोजना क्षेत्रका ६४ जनाबाट २० हजार ३०० कित्ताका लागि र सिन्धुपाल्चोक जिल्लाका अन्य ५३७ जना स्थानियबाट १ लाख ९ हजार ९८० कित्ता आईपीओ खरिदको आवेदन परेको हो । कम्पनीले स्थायिय वासिन्दाका लागि विक्री खुला गरेको यो शेयर छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म विक्रीमा रहनेछ । शेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गतेनै अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।
यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । जारी पूँजी रू. ६ अर्ब रहेको यस कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो । अब कम्पनीले स्थानिय सहित आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्न लागेको हो ।
कर्मचारीमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस