
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५१ करोड ५४ लाख ३१ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा करिब २ प्रतिशत कम हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५२ करोड ५६ लाख ४६ हजार यो नाफा गरेको थियो ।
यस वर्ष विद्युत विक्री आम्दानी पनि शून्य दशमलव ५८ प्रतिशत कम भएको छ । गत वर्ष रू. ८० करोड ३७ लाख १९ हजार विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ८० करोड ९२ लाख २५ हजार आम्दानी गरेको छ । सञ्चालन नाफा गत वर्ष रू. ५६ करोड १५ लाख ७३ हजार भएकोमा यस वर्ष १ दशमलव ७३ प्रतिशत कम रू. ५५ करोड १८ लाख ५८ हजार भएको छ ।
१० प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएको कम्पनीको जगेडा कोष रकम ९ दशमलव ८४ प्रतिशत कम कायम भएको छ । गत वर्ष रू. ४ अर्ब ७ करोड २७ लाख १७ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ३६ करोड ७२ लाख ४३ हजार कायम भएको हो । कुल सम्पत्ति रू. १० अर्ब ४३ करोड ४४ लाख ९३ हजार रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १० दशमलव ८३ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव ४७ छ ।
प्रतिक्रिया दिनुहोस